close

वडाध्यक्षको अभियान: दाता गुहारेरै नमुना विद्यालय

वडाध्यक्षको अभियान: दाता गुहारेरै नमुना विद्यालय

Trulli
ADVERTISEMENT

गोरखा- भएभरका चिचिला च्यापेर अभिभावक सहर पसे । गाउँ रित्तिँदै गएपछि स्कुल चल्ने कुरै भएन । विद्यार्थी नभएपछि २ वर्षअघि विद्यालय बन्द भयो । तर, अहिले समयले चोला फेर्दै छ । सहरका मान्छे गाउँ छिर्न थाले । विद्यार्थीले पढ्ने ठाउँ पाएनन् ।


गाउँले मिलेरै पहिले बन्द भएको स्कुल खोल्ने सुर कसे । गोरखाको सहिद लखन गाउँपालिका–७ बुंकोटस्थित मकैपुर आधारभूत विद्यालय अहिले झकिझकाउ छ । दाताहरूको सहयोगले बालमैत्री स्कुल बनाइएको छ भने विद्यार्थीलाई चाहिने शैक्षिक सामग्री पनि सहयोगबाटै जुटाइएको छ ।


वडाध्यक्ष शरण श्रेष्ठले विद्यालय सञ्चालनका लागि अभियानै चलाए । उनकै अभियानमा धेरैले आर्थिक र जिन्सी सहयोग गरेका छन् । ३ लाख १५ हजार बढी नगद सहयोग गरेका छन् भने विभिन्न व्यक्ति र संघ–संस्थाले शैक्षिक तथा भौतिक सामग्री सघाएका छन् ।


‘कोरोनाले भएका स्कुल पनि बन्द हुने अवस्था छ । तर, हामीले यही महामारीका बीच पहिले बन्द भएको स्कुल उकास्यौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘अब यसलाई गाउँपालिकाकै नमुना विद्यालय बनाउने योजना छ ।’


अहिले स्कुलमा २७ विद्यार्थीले पढ्न थालिसकेका छन् । विद्यालय सञ्चालन गर्न वडाले ५ लाख आर्थिक सहयोग गरेको उनले सुनाए । ‘गुणस्तरीय शिक्षा दिने भनेपछि अभिभावक खुसी छन् । अभिभावक र टोल सुधारकै पहलमा बन्द रहेको विद्यालय खुलाइएको हो’, उनले थपे, ‘तिहारलगत्तै व्यवस्थापन समिति गठन हुन्छ । गाउँपालिकाले १ शिक्षक खटाइसकेको छ ।’

 

जिल्ला स्थित शिक्षा आयोजना कार्यान्वयन इकाइले भवन ठड्याइदिए पनि सौचालय र अन्य संरचना भने छैन । ‘मर्मत गरेरै सौचालय चलाइरहेका छौं । सहयोग आउने क्रम जारी छ । दाताकै सहयोगले चलाउने हो’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘राम्रो कामका लागि सबैले मन फुकाएर सघाएका छन् ।’ अधिकांश सरकारी विद्यालय बन्द भइरहेको अहिलेको अवस्थामा मकैपुर आधारभूत विद्यालय बन्द भएर पनि खुलेको छ ।


विद्यालयका लागि आवश्यक कम्प्युटर, फोटोकपी मेसिन, स्पिकरलगायत सामग्री पनि सहयोगस्वरुप प्राप्त भएको वडाले जनाएको छ । त्यसतै वडा अध्यक्षको समन्वयमा विद्यालयको लागि आवस्यक कुर्चीहरु व्यवस्थापन भएका छन् भने बालकक्षा र इसिडी कक्षाका बालिकालाई चाहिने टिभी विभिन्न दाता मार्फत सहयोग प्राप्त भएको छ ।  विद्यालयको रङरोगन, कार्पेटिङ, लगायत हस्तान्तरण भइसकेको छ । सबै विद्यार्थीका लागि विद्यालय पोसाकको जोरजामसमेत भइसकेको छ । वडा कार्यालयकाे अनुसार  तिहार अगावै विद्यालय व्यवस्थापन समितिकाे समेत गठन हुने छ ।