close

अन्नपूर्णका पर्यटकीय स्थलमा प्रवेश निषेध

अन्नपूर्णका पर्यटकीय स्थलमा प्रवेश निषेध

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थल भ्रमणमा रोक लगाएको छ । कोरोना महामारी फैलिन नदिन गाउँपालिकामा रहेका तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, खोपारा लेक, महभिर र नारच्याङ झरनालगायत पर्यटकीय स्थल भ्रमणमा रोक लगाइएको हो । 


चाडपर्व अवसर पारेर सहरी क्षेत्रबाट भ्रमणमा आउनेबाट कोरोना भित्रिने जोखिम बढेको भन्दै गाउँपालिकाले पालिकारभरका पर्यटकीय स्थल भ्रमणमा रोक लगाएको छ । 

 

केही दिनयता देशका विभिन्न ठाउँबाट मानिस भ्रमणमा आउन थालेपछि जोखिम बढेको स्थानीय बताउँछन् । गाउँपालिकाका नायब सुब्बा कुलप्रसाद आचार्यले पर्यटकीय स्थल प्रवेशमा रोक लगाइएकाले भ्रमणमा नआउन अनुरोध गरिएको बताए ।  

 

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीका साथै बिरेठाँटी र घान्द्रुकका होटल व्यवसायीले बढ्दो कोरोना महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय गरेका छन् ।

 

३ वटै ठाउँका व्यवसायीको संयुक्त बैठकले कोरोना भित्रन नदिन तिहारअघि होटल नखोल्ने निर्णय गरेका घोडेपानी टोल सुधार समिति अध्यक्ष वीरेन गर्बुजाले बताए । घोडेपानीका होटल गत ११ चैतदेखि बन्द छन् । 


देशका अन्य ठाउँमा होटल तथा रेस्टुराँ खुला गरिए पनि घोडेपानी क्षेत्रमा अझै सुचारु भएका छैनन् । केही दिनयता भ्रमणका लागि स्वदेशी पर्यटक घोडेपानी आउन थालेपछि स्थानीयमा त्रास छ । 

 

५ शैयाको कोरोना अस्पताल

 

अन्नपूर्ण गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ शैया क्षमताको अस्थायी अस्पताल सञ्चालनको तयारी गरेको छ । १ चिकित्सक, २ जना नर्स र १ कार्यालय सहयोगीको विज्ञापन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताए ।


गाउँपालिका अध्यक्ष डमबहादुर पुनले ८ वटै वडाका स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डरको समेत ब्यवस्था गर्न लागेको जानकारी दिए ।

 

‘जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबापतको रकम कोषमा जम्मा गरेर त्यसबाट अक्सिजन सिलिन्डर खरिद गरीस्वास्थ्य संस्थालाई उपलब्ध गराइनेछ’, अध्यक्ष पुनले भने ।