close

विकासमा लम्किँदै धुर्कोट : खेलाडीलाई मैदान, कृषकलाई शितभण्डार

विकासमा लम्किँदै धुर्कोट : खेलाडीलाई मैदान, कृषकलाई शितभण्डार

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकाले अझै केन्द्रको टुंगो लगाएकाे छैन भने अधिकांश स्थानीय तह भाडाकै घरमा बस्छन् । बजार क्षेत्रबाहेकका अधिकांश स्थानीय तहका केन्द्रमा भने खासै रौनक छैन । धुर्कोट गाउँपालिकाले भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएपछि पालिकाको केन्द्र बरबोटको स्वरुपै फेरिएको छ । 

 

गाउँपालिकाले २ प्रशासकीय भवन निर्माण गरेको छ । १ करोड ३५ लाखको लागतमा १५ कोठे र जिल्ला समन्वय समितिसँगको साझेदारीमा ६० लाखको लागतमा ८ कोठे भवन निर्माण सम्पन्न भएको गाउँपालिका उपप्रमुख शिवबहादुर केसीले बताए ।


‘पालिका भवन अगाडि वाल र पानी फोहोरासहितको गार्डेन निर्माण भइरहेको छ । सामुदायिक रेडियो धुर्कोटको लागि ३० लाखको भवन गाउँपालिकाले निर्माण गरेको छ । सुरुमै १८ लाखको सभाहल निर्माण गरेर पहिलो गाउँसभा गरिएको छ’, उपप्रमुख केसीले भने ।

 

गाउँपालिका वरपरको ७ सय मिटर सडक पनि कालोपत्रे गरेको छ । केसीले प्रदेश सरकारको १ करोड ९ लाखको लागतमा सडक कालोपत्रे भइरहेको जानकारी दिए । 

 

सहिद पार्क र सभाहल निर्माण


धुर्कोट गाउँपालिकाले पालिकाको केन्द्र बरबोटमा सहिद शमशेरबहादुर स्मृति पार्क निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । करिब १ करोड ६० लाखको लागतमा गाउँपालिकाले पार्क निर्माण गरिरहेको हो । 


पार्कको पूर्वमन्त्री गोकर्ण विष्टले शिलान्यास गरेका थिए । पार्कमा लोकतन्त्रका लागि सहिद भएका जेदुराम भण्डारी र खिमविक्रम नेपाली तथा पञ्चायतकालीन सहिद शमशेरबहादुर खत्रीको सालिक राखिने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । 


‘पार्कमा बगै‌चासहितका विभिन्न संरचना निर्माण भइरहेका छन् । गाउँपालिकाका १२ स्थानीय तहमध्ये बहुउद्देश्यीय सभाहल निर्माण गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा करिब १ करोड ३० लाखको लागतमा सभाहल निर्माण गरिएको हो’, गाउँपालिका प्रमुख पोख्रेलले भने ।

 

सभाहलका निम्ति ८६ लाख, कम्पाउन्ड, वाल र घडेरीका लागि २० लाख तथा २५ लाखको लागतमा सभाहल फर्निसिङको काम भइरहेको छ । कोभिडको कारण काममा केही ढिलाइ भए पनि अहिले अगाडि बढेको उनले जानकारी दिए ।


धुर्कोटकोटको पुनर्निर्माण र संग्रहालय 

 

गाउँपालिकाले सरकारसँगको साझेदारीमा ऐतिहासिक धुर्कोट कोटको पुनर्निर्माण, पूर्वाधार निर्माण र संग्रहालय बनाउने काम अगाडि बढाएको छ । अहिले संग्रहालयका लागि प्रदेश सरकारको ५० लाख बराबरको काम सम्पन्न भएको छ भने गाउँपालिकाले बाँकी रहेको ५० लाख बराबरको काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । 


संग्रहालयमा कोटमा र गाउँका पुरातात्विक वस्तु संरक्षण गर्ने उद्देश्य गाउँपालिकाको छ । पुरातत्व विभागबाट ६० लाखमा कोट पुनर्निर्माण भइरहेको छ ।


९२ लाखको लागतमा बरबोटदेखि कोटसम्म स्थानीयले ढुंगाको प्रयोग गरेर रेलिङसहितको आकर्षक सिँढी निर्माण गरिरहेका छन् । पुनर्निर्माण र पूर्वाधारका लागि १ सातामा २ करोड बराबरको ठेक्का टेन्डर हुने पन्थीले बताए ।


गाउँपालिकाले यस क्षेत्रकै प्रसिद्ध कुमारी देवी मन्दिर संरक्षण गर्न तारबार र सिँढी निर्माणका लागि २७ लाख बजेट खर्चेको छ । प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आन्तरिक पर्यटकलाई धुर्कोटमा आकर्षित गर्न गुफादेखि सुन्दर पार्क निर्माणको योजना बनाइएको हो । 

 

कभर्ड हल र शीतभण्डार निर्माण


गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलकुद मैदानसहित पालिका नजिक ४० लाखको लागतमा कभर्ड हल निर्माण गरिरहेको छ । खेलकुद विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा कभर्ड हल निर्माण भइरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खड्गबहादुर थापाले जानकारी दिए ।

 

यस्तै, गाउँपालिकाले प्रदेश सरकार र उपभोक्ता समूहसँगको साझेदारीमा शीतभण्डारसमेत निर्माण गरेको छ । सुन्तला उत्पादनमा प्रख्यात धुर्कोटमा सुन्तलासहितको फलफूल राख्न गत वर्ष शीतभण्डार निर्माण गरिएको थापाले बताए । 


मौसममा सुन्तला भण्डारण गरेर बेमौसममा उचित मूल्यमा बिक्री गर्न सकिने भएपछि स्थानीयले लाभ लिन थालेका छन् ।