close

५० वर्षदेखि खोलाको पानीले प्यास मेट्दैछ बूढाबूढी गाउँ

पानी दिन्छु भन्दै भोट माग्छन्, जितेपछि अनुहार नै देखाउदैन् जनप्रतिनिधि

५० वर्षदेखि खोलाको पानीले प्यास मेट्दैछ बूढाबूढी गाउँ

पानी दिन्छु भन्दै भोट माग्छन्, जितेपछि अनुहार नै देखाउदैन् जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको कटारी नगरपालिका-७ रिस्कु तावाखोला किनारमा रहेको बूढाबूढी गाउँका २५ घरपरिवार वर्षौंदेखि दूषित पानी पिउन बाध्य छन् । स्थानीयलाई गाउँमा खानेपानी योजना सञ्चालन नहुँदा बस्ती नजिकैबाट बग्ने तावाखोलाको पानी खानुपर्ने बाध्यता छ ।

 

बूढाबूढी गाउँबासीलाई खानेपानीको जोहो गर्न सधैं पिरलो भइरहेको स्थानीय सोमबहादुर मगरको गुनासो छ । ‘स्थानीय तहको निर्वाचनपछि सबै किसिमका विकासे पूर्वाधार गाउँमै आउँछन् भन्ने आशा थियो । तर, आशा निरासामा परिणत भएको छ । पानीका लागि सधैं खोला धाउनुपर्ने बाध्यता छ’, मगरले भने ।

 

पुर्खौंदेखि खोलाको पानी गाग्रोमा बोकेर खानुपर्ने बाध्यता स्थानीय सरकारले पनि नसुनेको स्थानीयको गुनासो छ । चुनावताका उम्मेदवारले खानेपानी घरघर पुर्‍याइदिने आशा देखाए पनि जितेपछि जनप्रतिनिधिले पानी ल्याइदिनुको साटो गाउँमा समेत पाइला टेकेका छैनन् ।

 

‘स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँगाउँ आउँछ भन्थे । खोइ कहाँ र कसलाई आयो रु कुनै अनुभूति गर्न पाएका छैनौं’, बूढाबूढी गाउँका स्थानीयको सामूहिक चिन्ता छ ।


रिस्कुबाट २०५६ को निर्वाचनमा साविकको नेकपा एमालेबाट जगन्नाथ खतिवडा निर्वाचित भएका थिए भने २०७० को चुनावमा रिस्कुबाटै नेपाली कांग्रेसबाट नारायणबहादुर कार्कीले जितेका थिए ।

 

खतिवडा र कार्की रिस्कुकै भए पनि सांसद हुँदासमेत खानेपानीको समस्या समाधान गर्न चासो नदेखाएको स्थानीयको गुनासो छ । ‘हिउँदमा समस्या नभए पनि बर्खाको बेला बाढीको भेलको धमिलो पानी खान बाध्य छौं,’ स्थानीय गुनासो सुनाउँछन् ।


 
पानीको स्रोत रिस्कुको अन्य ठाउँमा भन्दा धेरै भएको बूढाबूढीकै नागरिकले ५० वर्षदेखि खानेपानी समस्या झेल्दै आएका छन् । बूढाबूढी गाउँका २५ घरधुरीलाई अहिले पनि खोलाको पानी गाग्रोमा भरेर खानुपर्ने बाध्यता छ । 


खानेपानीको मूल पर्याप्त मात्रामा भए पनि साना तथा ठूला योजना सञ्चालन हुन नसक्दा व्यवस्थापन हुन नसकेको हो ।

 

टोललाई लक्षित गरी वडा कार्यालय, नगरपालिका, प्रदेश र केन्द्र सरकारको समेत कुनै योजना अहिलेसम्म गाउँ नआएकाले गाउँदेखि तल तावाखोलाको दूषित पानी भरेर खाँदै आएको कटारी नगरपालिका- ७ की चन्द्रकुमारी राईले बताइन् । 


खानेपानीका लागि पहल गर्न वडा कार्यालयमा हरेक वर्ष माग लिएर गए पनि चासो नदिएको उनको अनुभव छ । ‘माग सम्बोधन नहुँदा खोलाको दूषित पानी खान बाध्य छौं । भोट दिएर पानी पाइएन । खोलाको पानी खाएको ५० वर्ष भयो । अब आफ्नै घरको धारामा झरेको पानी खाइएला भन्ने आशै मरिसक्यो,’ राईले भनिन् ।

 

कटारी नगरपालिका- ७ रिस्कुका वडाध्यक्ष धनकुमार दनुवारले भने स्थानीयको मागका आधारमा बूढाबूढी गाउँमा पानी पुर्‍याइने पहल हुँदै आएको दाबी गर्छन् । उनले भने, ‘पहिलो वर्ष सडक पुर्‍याउने काम भयो । दोस्रो वर्ष विद्युत् र तेस्रो चालू आर्थिक वर्षमा खानेपानीको काम गर्ने गरी योजना अगाडि बढेको छ ।’ 


स्थानीयले नै पहिला सडक, विद्युत् र त्यसपछि खानेपानी भनेकाले त्यसैअनुरुप काम भइरहेको उनको तर्क छ । वडागत रुपमा बजेट कम भएकाले वडाका सबै क्षेत्रमा पुर्‍याउनुपर्ने र एकैचोटि गर्न नसकिने भएकाले क्रमशः योजना पूरा गरिँदै जाने कार्यक्रम बनाइएको वडाध्यक्ष दनुवारले जानकारी दिए ।


उनले भने, ‘खानेपानीका लागि तावाखोला किनारमा कुवा रहेको र गाउँबस्ती नजिकै रहेकाले त्यसलाई गाउँमा पानी लैजाने प्राथमिकतामा नपरेको हो ।’

 

गाउँ माथि भएकाले पानी ल्याउन विद्युत् चाहिने हुँदा बिजुली सुविधा पुगेपछि पानी आउने वडाध्यक्ष सुनुवार बताउँछन् । गाउँमा देउलीकुनाबाट विद्युत् पहुँत पुर्‍याइएको छ । अब तावाखोला किनारामा रहेको कुवाको पानीलाई पम्पिङ गरेर गाउँमाथि ट्यांकी निर्माण गरी वितरण गर्ने योजना रहेको वडाध्यक्ष दनुवारले बताए ।