close

उदयपुरका पालिकाहरूको संयोजनमा कोभिड अस्पताल बन्दै

उदयपुरका पालिकाहरूको संयोजनमा कोभिड अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

उदयपुर - पहिलो चरणमा देशकै कोरोना इपिसेन्टर बनेको उदयपुरमा स्थानीय तह मिलेर कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा कोभिड अस्पताल निर्माण थालिएको छ । 


उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीको नेतृत्वमा चौदण्डीगढी नगरपालिका- ६ सातधारेमा अस्पताल बनाउन जिल्लाका ८ स्थानीय तहले लगानी गरेका हुन् ।


अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा उदयपुरका ८ स्थानीय तहले संयुक्त रुपमा लगानी गरेर ३ करोड १२ लाख रुपैयाँ लागतमा ‘स्टिल फ्रेम स्ट्रक्चर’ को अस्पताल भवन बन्दै छ । १४ कोठे भवनमा ४० शय्या रहनेछ ।


यहाँका कोरोना संक्रमितलाई बाहिरका अस्पतालले भर्ना लिन नमानेपछि त्यसको समाधानका लागि स्थानीय स्तरमै संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको उदयपुर कोभिड-१९ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिका नगरप्रमुख खगेन्द्र राईले बताए ।

 

अस्पताल निर्माणका लागि पहिलो चरणमा उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०/१० लाखका दरले ४० लाख गरी १ करोड लगानी गरेको बोर्डका अध्यक्ष चौधरीले जानकारी दिए ।


त्यसैगरी स्वीस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिका प्रमुख चौधरीले बताए ।


चौदण्डीगढी नगरप्रमुख राईका अनुसार अस्पताल ८ शय्या भेन्टिलेटरसहित सुविधासम्पन्न हुनेछ । उनले भने, ‘ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र, छुट्टै ओपिडी र डाक्टर रुमको व्यवस्था गरिनेछ । कोभिड अस्पताल निर्माण गर्न १९ असारमा बोलपत्र प्रकाशित गरेका थियौं । बोलपत्र प्रकाशित भएको मितिले १ सय २० दिनभित्र  अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।’

 

अस्पताल भवन १५ मंसिरसम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको राईले बताए । धुलिखेल र सुसम आदित्य एवं रेग्मी कन्स्ट्रक्सन जेभीले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउन ठेक्का सम्झौता गरेको हो ।

 

स्थायी रुपमा निर्माण गरिएको उदयपुर कोभिड १९ अस्पताल बेल्टारमा आरडिटी तथा पिसीआर स्वाब परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सम्भाव्यता अध्ययन भइरहेको उदयपुर विकास बोर्डका अध्यक्ष चौधरीले जानकारी दिए ।


‘अपुग रकमका लागि स्रोत खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले पनि सघाउने विश्वास लिएका छौं ।’ भवन निर्माणको काम सकिएको चौदण्डीगढी नगरपालिकाका इन्जिनियर सन्तोष राईले बताए । ‘मुख्य भवन निर्माणको काम सकिएको छ । कोठामा टायल लगाउने र रंगरोगन गर्ने काम बाँकी छ’, इन्जिनियर राईले भने । 

 

निधारित समयमै भवन हस्तान्तरण गरिने कन्स्ट्रक्सन कम्पनीका अमृत खड्काले बताए । अस्पताल निर्माणको काम निर्धारित समयमै सकिन्छ,’ उनले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पताल निर्माण गरिएकाले निर्धारित समयमै काम सक्ने गरी भवन निर्माण गरिरहेका छौं ।’ 


उदयपुर कोभिड १९ अस्पताल बेल्टार- ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।  त्यहाँ अहिले अस्थायी रुपमा सञ्चालनमा रहेको कोभिड १९ अस्पतालमा १ पटकमा ३६ जनाको उपचार गर्न सकिने आइसोलेसन सञ्चालनमा छ ।

 

गत ६ असारबाट अस्थायी रुपमा कोभिड १९ अस्पताल सञ्चालनमा रहेकामा अहिले सम्म १ सय  १६ भर्ना भई १ सय १० जना उपचारपछि घर फर्किएको अस्पतालमा इन्चार्ज तेजबहादुर पोखरेलले जानकारी दिए । 


त्यसमध्ये १ सय ९ जना उदयपुरका र १ खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिकाको हुन्  । अस्पतालमा हाल ३ महिलासहित ६ जना सक्रिय संक्रमित उपचाररत छन् । उदयपुरमा ७३ महिलासहित २ सय ३५ कोरोना संक्रमित भएका थिए ।

 

जिल्लाबाहिर परिक्षण गरेकासहित ४ सय १ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।