close

मंगलाले बनायो इन्द्रेणी पार्क 

मंगलाले बनायो इन्द्रेणी पार्क 

Trulli
ADVERTISEMENT

म्याग्दी - बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरेर म्याग्दीको मंगला गाउँपालिका- २ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय, म्याग्दीले  ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा उद्यान बनाएका हुन् । 


गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बजारवासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउने, भुल्नका लागि सजिलो होस् भनेर उद्यान बनाएको जानकारी दिए । गाउँपालिकाको केन्द्रसमेत रहेको बाबियाचौरमा तीब्र रूपमा बजारीकरण भइरहेको छ । 


‘कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ’, अध्यक्ष रोकाले भने । बाबियाचौर बजारको बायाँतिर म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भुल्ने र वृद्धवृद्धाहरूलाई टहलिन सजिलो भएको छ ।


शहरी क्षेत्रको धुलो, धुवाँबाट बच्न र स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने व्यवस्था मिलाउन मंगला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाई योजना कार्यान्वयन गरेको हो ।


पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौंमा बस्ने इन्द्रबहादुर अधिकारीले पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका थिए । जग्गादाताको सम्मानका लागि उद्यानलाई ‘मंगला इन्द्रेणी पार्क’ नामकरण गरिएको छ । 


उद्यान बनाउन पखो जग्गालाई सम्याएर पर्खाल लगाई खण्डखण्डमा विभाजन गरिएको छ । विश्राम स्थलका लागि टहरा निर्माण भएको छ । उद्यानलाई रमणीय र आकर्षक बनाउन दुवो तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ । 


आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको पार्क निर्माण योजनामा मंगला गाउँपालिकाले ३४ लाख र डिभिजन वन कार्यालयले १८ लाख रुपैयाँ लगानी गरिसकेका छन् । घेराबारा, बालबालिका खेल्ने ठाउँलगायतका संरचना बनाउन चालू आर्थिक वर्षमा गाउँपालिकाले थप २८ लाख रुपैयाँ विनियोजन गरेको वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले बताए ।


‘पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरवको आयोजना हो’, उनले भने, ‘बाबियाचौरमा आउने पाहुनाहरूलाई देखाउने ठाउँ पनि पार्क बनेको छ ।’ 


उद्यान परिसरमा सांस्कृतिक संग्रहालयसमेत बनाएर पर्यटक आकर्षित गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाभित्र बसोवास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, वेशभूषा झल्किने सामग्रीहरू संकलन गरेर संग्रहालयमा राखिने जनाइएको छ ।