close

धार्चेले थाल्यो पर्वतारोहणको पढाइ

धार्चेले थाल्यो पर्वतारोहणको पढाइ

Trulli
ADVERTISEMENT

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले पर्वतारोहण र पर्यटन विषय पढाउन थालेको छ । पर्वतारोहण संघसँगको समन्वयमा ४ नम्बर वडाको लाप्राकस्थित मणिकाम देवी माविमा नयाँ बिषयको पढाई सुरु गरिएको हो । गाउँपालिका अन्तर्गत पर्यटन र पर्वतारोहण पढाउने धार्चे गण्डकी प्रदेशकै पहिलो स्कूल भएको छ ।


यो वर्ष ११ र १२ कक्षामा पढाइ सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले विद्यालयमै पुगेर नयाँ बिषय पढाई भएको घोषणा गरे ।


‘धार्चेले नौलो अभ्यास गरेको छ । यो नागरिकको दैनिक जनजीविकासँग जोडिने विषय हो’, उनले भने, ‘अरु पालिकाले पनि आफ्नो विशिष्टतालाई हेरेर पाठ्यक्रम तयार गर्नुपर्छ ।’


पहिलो वर्ष ४५ जना विद्यार्थीले पर्वतारोहण र पर्यटन विषय पढ्न थालेका छन् । यसका लागि रक क्लाइम्बिङ, इन्डोर वाललगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार यही वर्षदेखि गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेछ भने स्थानीयलाई पाइलट प्रशिक्षण समेत दिइनेछ ।

इपिसेन्टर चिनाउन साइकल ट्रेल

धार्चे गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पर्यटकीय गाउँ लाप्राक यही गाउँपालिकामा छ । २०७२ सालको विनासकारी भूकम्प समेत गाउँपालिका नजिकै गएको हो । त्यसलाई देखाउन पालिकाले इपिसेण्टर साइकल ट्रेल निर्माण गरेको छ ।


गुम्दादेखि लाप्राकसम्म ६२ किलोमिटर लामो ट्रेल तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । लाप्राकमा गैर आवासीय नेपाली संघले नमुना बस्ती निर्माणको काम गरिरहेको छ । गाउँलाई पूरै पर्यटकीय स्थल बनाउने गरी संरचना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शिक्षालाई दैनिकीसँग जोड्नका लागि प्राविधिक विषयको पढाई थालेको उनको भनाइ छ ।