close

स्वास्थ्य चौकी बनाउन गाउँपालिका अध्यक्षसहितले दिए ३९ लाखकाे जग्गा

स्वास्थ्य चौकी बनाउन गाउँपालिका अध्यक्षसहितले दिए ३९ लाखकाे जग्गा

Trulli
ADVERTISEMENT

तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका- १ पिप्लेमा बन्ने आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको शिलान्यास भएको छ वडाबाटै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुरुप स्वास्थ्य केन्द्र भवन बनाउन गाउँपालिका अध्यक्षसहित ४ स्थानीयले जग्गा सहयोग गरेपछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले शनिबार शिलान्यास गरेका हुन् ।


गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले ४ आना, मदन थापाले साढे ३ आना, अमर थापाले साढे ३ आना र नहलसिंह मगरले २ आना जग्गा सहयोग गरेका हुन् ।

 

प्रचलित दरअनुसार स्थानीयले सहयोग गरेको जग्गा मूल्य ३९ लाख रुपैयाँ पर्ने वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार भवन बनाउन सहयोग गर्ने जग्गादातालाई सम्मान गरिएको छ । 


‘जग्गा किनेर स्वास्थ्य केन्द्र बनाउन पुग्ने बजेट थिएन । जग्गा खोजी हुँदै गर्दा उहाँहरूले सहयोगको इच्छा प्रकट गर्नुभयो । वडाबासी सबैलाई पायक पर्ने ठाउँमा भएकाले यहीँ बनाउने निधो भएर शिलान्यास गर्‍यौं’, वडाध्यक्ष पोखरेलले भने । 


शिलान्यास गरिएको स्वास्थ्य केन्द्रको भवन आगामी मंसिर मसान्तसम्म निर्माण सक्ने गरी कुसुम कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । ३३ लाख रुपैयाँ लागतमा १ तलाको ४ कोठे भवन बन्नेछ । 


गत आर्थिक वर्षमा भवन निर्माण गर्नुपर्ने भए पनि कोरोना कहरले ढिलाइ भएको वडाध्यक्ष पोखरेलले जनाए ।  आफ्नै भवन नहुदाँ पिप्लेमा रहेको आधारभूत स्वास्थ्य चौकीले भाडाको घरबाट वडाबासीलाई स्वास्थ्य सेवा दिँदै आएको छ ।


बन्दीपुर गाउँपालिकाको वडा-१, २, ३ र ५ मा आधारभूत स्वास्थ्य केन्द्र छन् । वडा- १ मा बाहेक अन्य वडाको स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । ‘वडा- २ मा केन्द्रको भवन निर्माण सम्पन्न भएर हस्तान्तरण हुन बाँकी छ’, उनले भने ।