close

काेराेना संक्रमितको उपचार गर्न पोखरा महानगरले दियो १९ लाख

काेराेना संक्रमितको उपचार गर्न पोखरा महानगरले दियो १९ लाख

Trulli
ADVERTISEMENT

कास्की - संक्रमितलाई उपचार गर्ने ठाउँको अभाव हुन थालेपछि पोखरा महानगरले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश सरकारको संक्रामक रोग अस्पतालमा अक्सिजन पाइपलाइन विस्तारका लागि सहयोग गरेको छ । 


गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा हाल एक हजार ६०० संक्रमित छन् । अस्पतालमा ठाउँ नभएपछि अधिकांश घरकै आइसोलसनमा बसिरहेका छन् । दुईवटै अस्पतालमा पाइपलाइन विस्तार गर्न पाँच÷पाँच लाख रुपैयाँ निकासा दिइएको महानगरले जनाएको छ । 


यसबाहेक पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप स्वास्थ्यकर्मी भर्ना गर्नका लागि नौ लाख रुपैयाँ दिने निर्णय गरिएको छ । १० जना स्टाफ नर्स र हेल्थ असिस्टेन्ट नियुक्त गर्ने र उनीहरूको तलब महानगरले व्यहोर्ने नगरप्रमुख मानबहादुर जीसीले बताए । 

 

‘स्वाब पठाएपछि परीक्षण हुँदैन । अस्पतालमा भर्ना भएका बिरामीको समयमा उपचार भएको छैन’, उनले भने, ‘यस्तो अवस्था हामी टुलुटुलु हेरेर बस्न सकेनौँ । नागरिकको सुरक्षाको लागि जति परे पनि खर्च गर्छ ।’


नयाँ भर्ना हुने स्वास्थ्यकर्मी तीन महिनाका लागि खटिनेछन् । तत्काल १०४ शय्यामा अक्सिजनको पाइप विस्तार हुनेछ । पोखरामा आजभोलि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । अहिले संक्रमण नियन्त्रणबाहिर गइसकेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । 


‘१० दिनअघिसम्म सबै बिरामीलाई डिल गर्न सकिन्थ्यो । आजभोलि फोनबाट खबर गर्न सक्ने अवस्थासमेत छैन’, उनले भने, ‘कति संक्रमित घरमै छन् । न हामीसँग पर्याप्त कर्मचारी छन्, न त बिरामीको विवरण लिन सकिएको छ । कोरोना हाम्रो नियन्त्रणबाहिर गइसक्यो ।’


कोरोना संक्रमण धेरै बढेपछि २, १३ र २७ नम्बर वडा कार्यालयको काम बन्द छ । पोखरा महानगरको मुख्य कार्यालयसमेत आंशिक खुलेको छ । २० जना कर्मचारीलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनीहरू घरमै आराम गरिरहेका छन् ।


महानगरले हाल तीनवटा डेडिकेटेड एम्बुलेन्स सञ्चालन गरेको छ भने आफ्नै शव वाहन पनि चलाएको छ । खर्च नभएका र हिँडेर आउन नसक्ने बिरामीलाई अस्पतालसम्म महानगरकै एम्बुलेन्सले पुर्‍याउँछ । 


‘संस्थाबाट समुदायमा कोरोना फैलिन थालेको छ । अब केही समय लकडाउन गर्नुपर्छ’, उनले भने, ‘लकडाउनको समयमा परीक्षण बढाउने, आइसोलेसन थप्ने र उपचारमा बढी ध्यान दिनुपर्छ । नागरिकले पनि अनुशासित भएर लकडाउनको पालना गर्नुपर्छ । नत्र संक्रमण जटिल अवस्थामा पुगिसक्यो ।’ शहरमा बढी आवतजावतले कोरोनाको चुनौती बढेको शर्माले बताए । 


सरकारसँग छैन बेड, निजीमा धमाधम थपिए


प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना उपचारका लागि ४० वटा बेड छन् । सबै बेड भरिएका छन् । महानगरले अक्सिजन पाइप लाइन विस्तारको पैसा दिएपछि थप ४० वटा बढाएर ८० पुर्‍याउने निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । 


प्रदेश सरकारले बनाएको सरुवा रोग अस्पतालमा ४४ बेड छन् । त्यहाँ पनि पूरै उपचार हुँदैन । सामान्य लक्षण देखिनेवित्तिकै पश्चिमाञ्चल अस्पतालमा रिफर गरिन्छ । यसले सरकारसँग धेरै पूर्वाधार भए पनि व्यवस्थापनमा चुकेको देखाउँछ । तर, पोखराकै निजी अस्पतालहरूले भने धमाधम कोरोना डेडिकेटेड बेड थप्न थालेका छन् । निःशुल्क उपचार हुँदासम्म कानमा तेल हालेर बसेका यी अस्पतालहरूमा ३०० भन्दा बढी बेड तयार भएका छन् ।


सबैभन्दा धेरै गण्डकी मेडिकल कलेजमा १७१ वटा बेड छन् भने मनिपालमा १००, चरकमा ३० र फिस्टेल अस्पतालमा नौवटा बेड कोभिड उपचारका लागि छुट्याइएको छ । उनीहरूले सबै बिरामीसँग अग्रिम पैसा लिएर उपचार गर्छन् । 


पोखरा महानगरका स्वास्थ्य प्रमुख शर्मा तत्काल कम्तीमा ५०० बेड कोभिड उपचारका लागि आवश्यक पर्ने बताउँछन् । ‘दायित्व सरकारको मात्र होइन, निजी अस्पताल पनि यो महाअभियानमा सँगै हुनुपर्छ’, उनले भने, ‘राज्यले तोकेको रकमभित्रै रहेर उपचार गरोस् । यो दुःखको समय हो ।’ 


यहाँका निजी अस्पतालले दैनिक ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको भेटिएको छ । त्यसको अनुगमन र कारबाही कुनै निकायबाट भएको छैन । गण्डकीमा अहिले सात हजार ८३९ जना संक्रमित छन् भने ८० जनाको मृत्यु भएको छ । कास्कीमा मात्र कोरोनाका कारण २९ जनाले ज्यान गुमाइसकेका छन् ।