close

...अनि हुइँकियो खच्चर हिंँड्ने बाटोमा जिप

...अनि हुइँकियो खच्चर हिंँड्ने बाटोमा जिप

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा सडक पुगेको छ । अल्पसंख्यक छन्त्याल समुदाय बाहुल्यको मल्कवाङमा यसअघि सडक सुविधा थिएन ।

 

पूर्वाधार विकास कार्यालय म्याग्दीले मराङको बेंसीदेखि आरवाङ–हाङबाङ हुँदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो । सडकको ट्रयाक खुलेपछि जिप, ट्याक्टर र मोटरसाइकल हुइँकिन थालेको स्थानीय दलमान छन्त्यालले बताए ।

 

सडक नहुँदा स्थानीयले आउजाउका लागि भीर, जंगल र खोल्साको बाटोबाटै पैदल यात्रा गर्थे । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

 

यातायातका साधन सञ्चालन हुन थालेपछि आउजाउका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको स्थानीय बताउँछन् ।

 

सडक पुगेपछि मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगंगा गाउँपालिकाको कुइनेखानीका करिब ५ सय घरधुरी लाभान्वित भएका छन् ।

 

यो सडकले मराङको आरबाङ, रिखा, घन्टीबाङ, हाङबाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ ।

 

‘बेंसीदेखि पैदल यात्रा गरेर मल्कवाङ पुग्न २ घन्टा लाग्थ्यो । अहिले भने गाडीबाट आधा घन्टामै पुगिन्छ । यसले गर्दा ढुवानी भाडा घटेको छ । बिरामीलाई अस्पताल पु¥याउन सजिलो भएको छ’, स्थानीय अमृत छन्त्याल भन्छन् ।

 

पूर्वाधार विकास कार्यालयका अनुसार बेंसीदेखि मल्कबाङ जोड्ने सडकको दूरी ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित ८० लाख बजेटबाट उपभोक्ता समितिले बेंसीदेखि आरबाङ हुँदै मल्कबाङ सीमासम्म सडक खनेको थियो ।

 

कार्यालयका सबइन्जिनियर घनश्याम रोका २०७६/०७७ मा ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले २ हजार ७ सय मिटर सडकको नयाँ ट्रयाक खनेको बताउँछन् ।

 

‘गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भए पनि ठेक्का सम्झौताअनुसार ६६ प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘यस वर्ष मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि विनियोजित १ करोड २५ लाख बजेटको ठेक्का आह्वान भइसकेको छ ।’

 

रघुगंगाको पाखापानी–ठाडाखानी हुँदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङदेखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीका ५ स्थानीय तहलाई जोड्ने चक्रपथ बन्नेछ ।

 

७ वडा रहेको धवलागिरिको गुर्जाबाहेकका वडाको भूगोल सडक सञ्जालमा जोडिएका छन् । वडा–४ मुदीमा पनि हालै सडक यातायात सुविधा पुगेको छ ।