close

बेनीका ३ वडा गाँसिने सडकमा कालोपत्रे 

बेनीका ३ वडा गाँसिने सडकमा कालोपत्रे 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाको ३ वडा समेटेको रत्नेचौर-भकुण्डे-भकिम्ली सडक कालोपत्रे सुरु भएको छ । रत्नेचौरदेखि अर्जम, भकुन्डे हुँदै भकिम्ली जोड्ने यो सडकबाट बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका २ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन् । 

 

बेनी नगरले अघि सारेको चक्रपथ सडकको अवधारणाअनुसार जिरो पोइन्ट मानिएको रत्नेचौरदेखि सडक डिभिजन कार्यालय बाग्लुङले कालोपत्रे गर्न लागेको हो । 

 

जिरो किलोमिटरदेखि उपल्लाचौरको राम्चेको घुम्तीसम्म १ हजार ३ सय मिटर सडक ८.२० मिटर फराकिलो, नाली निर्माण र ग्राभेल भइसकेको छ । ‘ठेकेदार कम्पनीले कालोपत्रेका लागि सामान जुटाउने र सरसफाइ गरेको छ’, रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले भने, ‘तिहारलगत्तै कालोपत्रे गरिसक्ने तयारी छ ।’ 

 

राम्चे घुम्तीको उकालोमा करिब १ सय मिटर सडक ढलान भइसकेको छ । ०५७/५८ मा तत्कालीन जिविसले रत्नेचौरदेखि यो सडक मार्ग निर्माण सुरु गरेको थियो ।

 

रत्नेचौरदेखि भकुन्डे हुँदै भकिम्लीको डोले जोड्ने १८ किलोमिटर दूरीको यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेर गत आर्थिक वर्षदेखि बहुवर्षे आयोजना सञ्चालन भएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए । 

 

‘३५ करोड लागत अनुमान गरिएको छ’, उनले भने, ‘गत आवमा विनियोजित ४ करोड बजेटबाट सडक डिभिजनले २ प्याकेजमा ठेक्का लगाएको थियो । यस वर्ष पनि योजनाले निरन्तरता पाएको छ ।’

 

कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले १ करोड ७३ लाख मा ठेक्का लिएको थियो । दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुन्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन १ करोड ६९ लाखमा अर्को ठेक्का लगाएको थियो ।

 

सडक विस्तार र स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेपछि आउजाउमा सहज हुने र ढुवानी भाडा घट्ने स्थानीय मोतीलाल किसान बताउँछन् ।  

‘साँघुरो, ग्रेड तथा घुम्ती नमिलेको कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय कालोपत्रे हुन थालेपछि खुसी छौं,’ उनले भने, ‘बर्खामा हिलो, पहिरोले सडक अवरुद्ध हुने तथा हिउँदमा धुलाम्मे हुने समस्या हटेर सुरक्षित रुपमा यात्रा गर्न पाउने अपेक्षा छ ।’