close

स्थानीय सरकारको नजर अग्ला डाँडामा

स्थानीय सरकारको नजर अग्ला डाँडामा

Trulli
ADVERTISEMENT

तनहुँ - हुनत नेपालका अग्ला डाँडाकाँडा आफैँमा प्राकृतिक भ्यू टावर हुन् । हिमालदेखि तराईसम्मका दृश्य एउटै थलोमा उभिएर नियाल्न सकिन्छ कतिपय स्थानबाट । पूर्वाधार अभावले ती अग्ला डाँडाबाट जतिसुकै मन लोभ्याउने दृश्य देखिए पनि पर्यटक उक्लिन चाहँदैनन् । 


जनप्रतिनिधि निर्वाचित भएर आएपछि तनहुँका स्थानीय सरकारको नजर यस्ता अग्ला डाँडामा परेको छ । अग्ला डाँडामा गगनचुम्बी भ्यू टावर बनाई पर्यटक उकाल्न जोडबल गरिरहेका छन् यहाँका जनप्रतिनिधिले । 


तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधिलाई पनि भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याइसकेको गाउँपालिकाले फेरि दुई स्थानलाई छनोट गरी प्रक्रिया अगाडि बढाएको छ । 


राजमार्गलाई नछोएकाले पर्यटनको सम्भावना हुँदासमेत ओझेलमा परेपछि घिरिङ गाउँपालिका- ३ घिरिङकोट डाँडामा तीन तल्लाको भ्यू टावर निर्माण भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा छुट्याएको २० लाख रुपैयाँले चिटिक्क परेको भ्यू टावर निर्माण भएको हो ।


भ्यू टावरबाट समग्र घिरिङको दृश्यावलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष रनबहादुर राना बताउँछन् । त्यहाँबाट देखिने हिमशृंखला, हरियाली पहाडका तरेली, कालीगण्डकी नदीको नागबेली बगाई, झुरुप्प परेका घिरिङका गाउँवस्तीको दृश्यले आकर्षित गर्ने उनको दाबी छ । 


‘घिरिङ चौबीसे राज्यअन्तर्गतको एउटा राज्य हो । घिरिङकोटमा राजाले प्रयोग गरेका पुराना हातहतियार र दरबारको भग्नावशेष छ । ऐतिहासिक थलोमा पर्यटकको चहलपहल बढाउन भ्यू टावर बनाएका छौँ’, अध्यक्ष रानाले भने ।


गाउँबाट शहर बसाइँ झर्नेको लर्को रोक्न गाउँपालिकाले स्थानीयलाई आर्थिक गतिविधिसँग जोड्न पर्यटनको प्याकेज निर्माण गरिरहेको उनले सुनाए । ‘कला, संस्कृतिमा त हामी धनी नै छौँ । पर्यटक आउनलाई पूर्वाधार पनि चाहिँदोरहेछ’, उनले भने, ‘गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल, भ्यू टावर र होमस्टे बनाउन जोड दिएको छ ।’


गाउँपालिकाको वडा नम्बर- २ गजरकोट र वडा नम्बर- ५ को चन्द्रकोटमा पनि भ्यू टावर बनाउन यसपालि बजेट विनियोजन गरिएको छ । गजरकोट भ्यू टावरका लागि १० लाख रुपैयाँ र चन्द्रकोटलाई २० लाख रुपैयाँ बजेट छुट्याइएको अध्यक्ष रानाले जानकारी दिए । उनले भने,  ‘बहुवर्षीय योजना हो । अपुग भएको बजेट आगमी वर्ष पनि थपिन्छ ।’


घिरिङकोट भ्यू टावरको काखैमा छ उवाथोक गाउँ । मगर समुदायको बसोवास रहेको उवाथोकका आठ घरमा यसै वर्षदेखि होमस्टे सञ्चालनमा ल्याइएको छ । भ्यू टावर बनेपछि होमस्टेमा आउने पर्यटक बढ्नेमा विश्वस्त छन् उवाथोक सामुदायिक होमस्टेका अध्यक्ष पूर्णसिंह थापा । कोरोना कहरकै बीचमा पनि भ्यू टावरमा पर्यटक आइरहेको उनी बताउँछन् । 


‘यतिबेला कोरोनाको डरले होमस्टेमा पाहुना राखेका छैनौँ । भ्यू हेर्न आउने आउने आन्तरिक पर्यटकको चहलपहल बढेको देख्दा होमस्टेमा पनि पाहुना बढ्नेमा आशावादी छौँ’, उनले भने ।

 

मानहुँकोटमा ‘दृश्यावलोकन विन्दु’ बन्दै

 

दशैँपछि तनहुँको व्यास नगरपालिका- ५ मानहुँकोट भाइरल छ । फेसबुक र टिकटकमा मानहुँकोटको फोटो र भिडियो सर्वत्र भेटिन्छ । कोरोनाको डर भुलेर दमौली बजारलाई कुहिरोले ढपक्कै ढाकेर सूर्य उदाएको मस्त दृश्य नियाल्न दैनिक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोटसम्मको उकालो चढछन् । 


प्राकृतिक रूपमै ‘दृश्यावलोकन विन्दु’ बनेको यस ठाउँमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वडा कार्यालयले दृश्यावलोकन विन्दु निर्माण सुरु गरेको छ ।


४० लाख रुपैयाँको लागत अनुमान गरिएकामा ३६ लाख ५० हजार रुपैयाँमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । निर्माणको ठेक्का माता बाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ । 


दृश्यावलोकन विन्दु दुई तल्लाको हुने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘दृश्यावलोकन विन्दुको पहिलो तल्लामा कफी सप र माथिल्लो तल्लामा सिसाको घर हुनेछ ।’ 

 

अबको ६ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुने उनले जनाए । पर्यटकीय गन्तव्यका रूपमा विकसित मानहुँकोटको प्रचारका लागि दृश्यावलोकन विन्दुले थप टेवा पु¥याउने उनको भनाइ छ ।


गत आर्थिक वर्षमा व्यास नगरपालिका- ६ गलेखामकोटमा तीन तल्ले भ्यू टावर निर्माण गरिएको छ । धार्मिक पर्यटनको सम्भावना रहेको यहाँ पर्यटक भित्र्याउन भ्यू टावर निर्माण गरेको वडा अध्यक्ष सूर्यभक्त भण्डारीले बताए । १६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भ्यू टावरबाट २० जनाभन्दा बढीले दृश्यावलोकन गर्न सक्ने भण्डारीले बताए । 


भ्यू टावर बनेपछि गलेखामकोटमा आन्तरिक पर्यटक बढेको उनले सुनाए । ‘लकडाउनको बेलामा पनि आन्तरिक पर्यटक आइरहे’, उनले भने । यहाँबाट कास्कीका तालहरू, माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिने भण्डारीले जानकारी दिए । 


गलेखामकोट बाइसे, चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको स्थान हो ।


भिमाद नगरपालिका- ९ पाइमी डाँडामा पनि गत वर्ष भ्यू टावर निर्माण गरिएको छ । एक हजार १५७ मिटर उचाइमा रहेको डाँडामा तीन तल्लाको भ्यू टावर बनाइएको हो । ३६ फिट अग्लो फलामे भ्यू टावर निर्माणमा आठ लाख रुपैयाँ लगानी भएको छ । 


नगरपालिकाले छ लाख ७५ हजार रुपैयाँ, स्थानीयवासीले एक लाख २५ हजार रुपैयाँको जनश्रमदान र चन्दा संकलन गरेको गरेको वडा अध्यक्ष इमानबहादुर थापाले बताए ।