close

पर्यटकीय स्थल ताप्लीको संरक्षणमा पालिकाकाे चासो

पर्यटकीय स्थल ताप्लीको संरक्षणमा पालिकाकाे चासो

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको ताप्ली गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल ताप्ली पोखरी संरक्षण सुरु गरेको छ । पर्यटन क्षेत्रको संरक्षण गरी पर्यटक भित्र्याउन पालिकाभित्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणमा चासो देखाएको हो ।

 

पालिकाले १० लाख बजेट विनियोजन गरी ताप्ली पोखरी संरक्षण तथा प्रवर्द्धन सुरु गरेको छ । धार्मिक तथा पर्यटकीय स्थल ताप्ली पोखरी समुद्री सतहदेखि करिब १८ सय उचाइमा छ । पोखरी पुग्न कटारीबाट करिब ३५ किलोमिटर दूरी पहाडी सडक प्रयोग गर्नुपर्छ । 

 

पोखरीको संरक्षण तथा प्रवद्र्धनको लागि अघिल्लो वर्ष ५ लाख बजेट विनियोजन गरी घेराबेरा काम गरेको थियो गाउँपालिका अध्यक्ष उद्धपसिंह थापाले बताए । ‘प्राकृतिक बनावट चित्ताकर्षक रहेको ७५ मिटर चौडाइ र ३ सय मिटर लम्बाइको पोखरीमा सफा मौसमका बेला नीलो आकाशको छाया मनमोहक देखिन्छ । पोखरीमा माछा भने पाइँदैन’, अध्यक्ष थापाले भने ।

 

ताप्ली पोखरी करिब ५ बिघामा फैलिएको छ । यहाँ नयाँ वर्ष १ वैशाखमा विशेष मेला लाग्ने गर्छ । मेलामा पूजापाठ गर्ने, भाकल बुझाउने गरिन्छ । पोखरीमा पूजापाठ गर्दा मनोकांक्षाा पूरा हुने जनविश्वास छ । सौन्दर्यले भरिपूर्ण पोखरीबाट सगरमाथा, लोत्सेलगायत हिमालसमेत अवलोकन गर्न सकिन्छ ।

 

पोखरीमा कटारी नगरपालिका, लिम्चुङ्बुङ, रौतामाई, उदयपुरगढीलगायत जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा नयाँ वर्षमा मेला भर्न आउने गरेका छन् । घुमफिरका लागि गन्तव्य स्थल भए पनि प्रचार-प्रसारको कमी र पहाडको कच्ची सडक भएकाले पर्यटक उति नआउने गरेको स्थानीय बताउँछन् ।

 

पोखरीभन्दा केही मिटर पर १ करोड ५५ लाख बजेटमा ४० फिट अग्लो तीन तले भ्युटावर निर्माण गर्न गत वर्ष प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको थियो । यस्तै, संग्रहालयका लागि १० लाख बजेट विनियोजन भएर काम अगाडि बढेको अध्यक्ष थापाले जानकारी दिए ।

 

‘अघिल्लो आर्थिक वर्र्षबाट १० लाखको बजेटले भ्युटावर निर्माणाधीन छ । यसलाई अर्को आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ’, अध्यक्ष थापाले भने ।

 

ओख्लेको जोर ढुंगा, ककनी हलेसीजस्तै आकृति भएको वडा- ४ को एकादशी मेला लाग्ने ककनी मेला, बौद्ध गुम्बालगायतका पर्यटकीय सम्भावना बोकेका स्थलको योजना बनाएरै संरक्षण सुरु गरिएको पालिकाका सूचना अधिकृत विकलसिंह ठकुरीले बताइन् ।

 

पालिकालाई पूरै सुनकोसीले छुट्याएकाले सुनकोसीमा र्‍याफ्टिङ, केबुलकारबाट सीधा हलेसी महादेव गुफा जोड्ने लक्ष्य लिएको उनले बताइन् । ‘साउन-भदौदेखि असोजसम्म पाक्ने घंगारुले ताप्ली पोखरी वरिपरि राताम्य पाखै रंगिने गरेका छन् । पोखरी संरक्षण गरेर बोटबिरुवा रोप्नुका साथै घंगारुलाई पनि संरक्षण गरेका छौ’, अधिकृत ठकुरीले भनिन् ।

 

दसैं-तिहारमा गाउँ फर्केका स्थानीयले मेलापर्वका बेला घुमघाम गर्ने विशेष थलो पोखरी बनेको उनको भनाइ छ । पालिकाभित्र बसोबास गर्ने सबै जातजातिको पहिचान झल्कने सामग्री र भेषभूषा संरक्षण गर्न संग्रहालय स्थापना तथा निर्माण अघि बढेको उनले जानकारी दिइन् ।

 

हरित पार्क निर्माण 


उदयपुरको त्रियुगा नगरपालिका-४ बगाहा सालघारीमा नगरपालिकाले माटेखाडी सालघारी क्षेत्रमा आइल्यान्डसहितको रमणीय हरित पार्क निर्माण गरेको छ ।

 

सगरमाथा लोकमार्गको कदमाहा गाईघाट सडकसँगै जोडिएको सो क्षेत्र पर्यटकीय स्थलसमेत भएकाले हरित पार्क निर्माण भएसँगै आन्तरिक र बाह्य पर्यटकको आकर्षणमा पर्ने त्रियुगा नगरपालिकाको अपेक्षा छ । यसबाट स्थानीयलाई आर्थिक र सामाजिक रुपमा फाइदा हुने त्रियुगाका नगरप्रमुख बलदेव चौधरी बताउँछन् ।

 

करिब आठ बिघामा फैलिएको हरित पार्कभित्र कलाकार विक्रमश्रीको डिजाइनमा निर्माण गरिने सांगीतिक कार्यक्रम स्थल, वनभोज स्थल, धार्मिक तथा पौराणिक महत्वका विभिन्न वस्तुको आकृति, स्विमिङ पोखरी, आवाससहितको विश्रामगृहसमेत बनाउन लागिएको निर्माण समिति अध्यक्ष लोकबहादुर कटुवालले जानकारी दिए । 

 

‘नगरभित्र पर्यावरण र पर्यटन विकासका लागि सबै प्रकारका सुविधा सम्पन्न पार्क निर्माणका निम्ति विशेष योजना निर्माण गरी भौतिक संरचना बनाउने क्रम चलिरहेको छ’, नगरप्रमुख चौधरी भन्छन् ।

 

माटेखाडी सालघारी हरित पार्क निर्माणका लागि अघिल्लो आर्थिक वर्षमै त्रियुगाले ४२ लाख ४९ हजार र स्थानीय उपभोक्ता समितिबाट ७ लाख ५० हजार नगद गरी ४९ लाख ९९ हजारको लागतमा चारैतर्फ पक्की पर्खाल बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कटुवालले बताए ।

 

‘हरित पार्कको आकर्षणका रुपमा रहेका आइल्यान्डसहितका दुई पोखरी बनाइएको र पानीमा आहारा खोज्ने पार्कभित्र हाल ३२ प्रजातिका चरा देख्न सकिन्छ’, अध्यक्ष कटुवालले भने ।

 

हरित पार्कका लागि विभिन्न जातका सदावहार वनस्पतिका बोटबिरुवासहित पूmल बगैंचासमेत निर्माण गरिनेछ भने बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

 

त्रियुगाले पार्कका लागि गत वर्ष १० लाख बजेट विनियोजन गरेको थियो । सदरमुकाम गाईघाटबाट चार किलोमिटरको दूरीमा रहेको पार्क फन्को लगाउन आउनेको संख्या दैनिक बढिरहेको त्रियुगा नगरपालिका- ४ का वडाध्यक्ष सुबास निरौलाले बताए ।