close

ठाडाखानी-मालिका जोड्ने सडक निर्माणमा जुट्यो रघुगंगा 

ठाडाखानी-मालिका जोड्ने सडक निर्माणमा जुट्यो रघुगंगा 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानीदेखि धार्मिक पर्यटकीय स्थल मालिका जोड्ने सडक निर्माण सुरु भएको छ । ठाडाखानी हुँदै मालिका पुग्ने भक्तजन र पर्यटक सुविधाका लागि गाउँपालिकाले उपभोक्ता समितिमार्फत सडक निर्माण सुरु गरेको हो ।

 

कार्यपालिका सदस्य टेकजीत छन्त्यालले चालू आर्थिक वर्षमा विनियोजित १० लाख रुपैयाँको बजेटबाट उपभोक्ता समितिले सडक निर्माण सुरु गरेको जानकारी दिए । ‘सडक निर्माणका लागि भक्तिलाल छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति बनेको छ । सोमबारदेखि सुरु भएको सडकको बुधबारसम्म करिब एक किलोमिटरको ट्र्याक खोलियो’, छन्त्यालले भने । 

 

एक साताभित्र पहिरेनीसम्म करिब चार किलोमिटर सडक खन्ने उपभोक्ता समितिको लक्ष्य छ । सडक निर्माण भएपछि स्थानीयका साथै मालिकाको दर्शन र अवलोकनमा आउने भक्तजन तथा पर्यटकलाई सहज हुनेछ ।

 

सडक बनेपछि करिब एक घन्टामा उक्त स्थानमा पुगिनेछ । मालिका र रघुगंगाको सीमा क्षेत्र मालिकाबाट सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखला अवलोकन गर्न सकिन्छ । 

 

मालिकामा रहेको मन्दिरमा पूजाआजा, दर्शन र भाकल गरे मनोकांक्षा पूरा हुने मान्यताका कारण चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, तिहारमा भक्तजनको घुइँचो लाग्ने गर्छ । यसअघि ठाडाखानीदेखि मालिका जाने बाटोमा पर्ने बथानडाँडाबाट सरघारीसम्मको उकालो बाटोमा ४ लाख २० हजार रुपैयाँ लागतमा ३ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो ।

 

आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको उक्त योजना सम्पन्न गर्न ठाडाखानीका बासिन्दाले १ लाख २० हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । पदमार्गमा साढे २ मिटर फराकिलो बनाउन, ढुंगा बिछ्याउन, झाडी हटाउन थालिएको छ ।

 

मालिका जानका लागि ठाडाखानीदेखि सबैभन्दा छिटो पुगिने बाटो भएको स्थानीय बताउँछन् । हाल ठाडाखानीदेखि ३ घन्टा पैदल हिँडेरै मालिका पुग्न सकिन्छ । मालिकाको पर्यटन विकासका लागि पदमार्ग विस्तार, ठाडाखानीमा छन्त्याल होमस्टे, संग्रहालय र सामुदायिक लज सञ्चालनको योजना रहेको पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

 

‘पर्यटन मन्त्रालयले टोड्केदेखि मालिका जाने बाटोमा पदमार्ग बनाएको छ । मालिकाले बाइन्दफाँटदेखि मालिका धुरीको फेदीमा पर्ने धौलावाङसम्म सडकको ट्र्याक खोलेको छ । प्रदेश सरकारको सहयोगमा बिम र दुखु हुँदै मालिका जाने पदमार्गसमेत निर्माण भएको छ’, शेरपुञ्जाले भने ।