close

म्याग्दीको मंगलामा लकडाउन

म्याग्दीको मंगलामा लकडाउन

Trulli
ADVERTISEMENT

म्याग्दी– कोरोना संक्रमण दर बढ्न थालेपछि म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिन २० कात्तिक राति १२ बजेदेखि १ मंसिर राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।


छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मंगलाको केन्द्र बाबियाचौरका बैंक, बित्तिय र सहकारी संस्थाका साथै कार्यालयमा हुने भीड र आवतजावतले कोरोना भाइरसको संक्रमण बढ्ने आँकलन गरिएको छ ।

 

गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था, बैंक, बित्तिय र सहकारी संस्थाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । खाद्यान्न, तरकारीका पसल र व्यवसायहरु बिहान ७ देखि १० बजेसम्म खोल्ने दिइएको छ ।

 

यातायात, ढुवानी र बिकास निर्माणलाई भने बन्दाबन्दीले असर नपर्ने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ती क्षेत्र सञ्चालन गरिने भएको छ । लकडाउन कार्यान्वयनका लागि गाउँपालिकाले दश बुँदे निर्देशन जारी गरेको छ ।

 

घरबाहिर ३ जना भन्दा बढी भेला हुन, तिहार पर्वको अवसरमा देउसीभैलो र पिङ खेल्न पनि रोक लगाएको छ । टोल स्तरमा सचेतनमूलक कार्यक्रमका साथै सामाजिक, भौतिक दुरी कायम गर्ने, मास्क नलगाउनेलाई संक्रामक रोक ऐन अनुसार कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि असोज तेस्रो साता देखिनै मंगलाको सेवा प्रभावित भएको थियो । संक्रमित कर्मचारी निको भएपनि समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुन थालेको छ ।


यसअघि म्याग्दीको बेनी नगरपालिका र मालिका गाउँपालिकाले बजार, कार्यालय, बैंक तथा बित्तीय र सहकारी संस्थाको सेवा बन्द गरिसकेका छन् । सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको जलजला गाउँपालिका र बजार क्षेत्र पनि बन्द भएका छन् ।