close

८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिका सिल

८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिका सिल

Trulli
ADVERTISEMENT

उदयपुर–  उदयपुरको त्रियुगा नगरपालिका सिल गरिएको छ । एकै दिन प्रमुख इन्जिनियर सहित ८ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।


पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो । नगरपालिकाले अत्यावश्यक बाहेकको सबै गतिबिधि ठप्प गरेको छ ।


त्रियुगा नगरपालिकाले एकैदिन ८ कर्मचारी र त्यस अघि २ जनामा संक्रमण पुष्टि भएकाले कोभिड–१९ को जोखिमबाट जोगिन एक साताका लागि सम्पूर्ण कामकाज रोक्नु परेको नगर प्रमुख बलदेव चौधरीले बताए ।


२८ कात्तिकसम्मका लागि कामकाज रोकिएको सूचना जारी गरेपछि तिहार अघि कार्यालय नखुल्ने भएको हो । २८ गते शुक्रबारसम्म औपचारिक बिदा दिइएको र त्यसको भोलिपल्ट शनिबार र लगत्तै तिहारको सार्वजनिक बिदा हुने हुँदा तिहारपछि मात्र कार्यालय खुल्ने निमित प्रमुख प्रशासकीय अधिकृत बिश्वजीत राईले बताए ।


अधिकृत राईका अनुसार यस अघि पनि नगरपालिकाका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि नगर प्रमुखका चालक र  इन्जिनियरमा संक्रमण देखिएको थियो ।


चालक दुर्गा गिरी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने इन्जिनियर घरमै आइसोलेशनमा बसेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार केही दिन अघि इन्जिनियरको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका नगरपालिकाका ७५ कर्मचारी सहित १ सय जनाको स्वाब नगरपालिकाले संकलन गरी परीक्षण गर्न पठाएको थियो । त्यसक्रमा एनसीसी बैंकका कर्मचारी र त्रियुगा नगरपालिका– ११ वडाका वडाध्यक्षका छोरा सहित १० जनामा कोरोना संक्रमण देखिएको राईले बताए ।


कर्मचारीमा भटाभट संक्रमण देखिन थालेपछि नगर प्रमुख बलदेव चौधरी र उपमेयर देवीकुमारी चौधरी पनि आइसोलेसनमा बस्न थालेका छन् । संक्रमितहरुमा सामान्य रुघाखोकी बाहेक अन्य लक्षण नदेखिए पनि सुरक्षा सतर्कता अपनाउन आईसोलेसनमा बस्न थालेको नगर प्रमुख चौधरीले बताए । नगरपालिकाका १६ वटै वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई पनि होम आइसोलेसनमा बस्न आग्रह गरेको नगर प्रमुख चौधरीले बताए ।


वडा ११ पनि बन्द


त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका–११ पनि २८ गतेसम्मका लागि बन्द गरिएको छ ।


नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवाहरु बन्द हुने भएको नगरपालिका र वडाले सूचना सार्वजानिक गरेको छ ।


विद्यालय समेत बन्द


कोरोना संक्रमण जनस्तरसम्म पुगेको भन्दै त्रियुगा नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्र भित्रका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई शिक्षण सिकाई क्रियाकलाप बन्द गर्न निर्देशन दिएको छ ।


त्रियुगा नगरपालिकामा एकै दिन प्रमुख इन्जिनियर सहित ८ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिएसँगै यस्तो निर्देशन दिएको हो ।