close

ठेकेदारको लापर्बाहीले तीन जिल्ला जोड्ने मोटरेवल पुल अलपत्र

ठेकेदारको लापर्बाहीले तीन जिल्ला जोड्ने मोटरेवल पुल अलपत्र

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको दूधकोसी नदीमा निर्माणाधीन भोजपुर-खोटाङ जोड्ने दुई मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र परेको छ । ०७७ असार मसान्तमा निर्माण सक्नुपर्ने ठेक्का सम्झौता भए पनि ठेकेदारले समयमै नबनाउँदा पुल अलपत्र परेको हो ।

 

ठेकेदारले समय काम नगर्दा दुवै पुल तोकिएको ठेक्का सम्झौता सकिएको ४ महिना बितिसक्दा पनि दुवै पुलको काम २० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । 


उदयपुर, खोटाङ, भोजपुर जोड्ने दूधकोसी नदीको निर्माणाधीन दुई पुलको एकै दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री देउवाले ३१ भदौ ०७४ मा उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट भोजपुर जोड्ने र त्रियुगा नगरपालिका- १४ धाप्लाङबाट खोटाङ जोड्ने मोटरेवल पुलको एकै दिन शिलान्यास गरेका थिए ।

 

उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने रणनीतिक महत्व बोकेको दूधकोसी नदीको पुल निर्माण व्यवसायीको लापर्बाहीका कारण अलपत्र परेको जनप्रतिनिधिको दाबी छ । तीन वर्ष बित्दा पनि २० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । 

 

करिब २३ करोड रुपैयाँको लागतमा ०७७ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी रसुवा स्वच्छन्द एसएनएस र पप्पु ज्वाइन्ट भेन्चरले ठेक्का लिएको हो । दुवै पुल निर्माण गर्ने पप्पु निर्माण सेवा कालोसूचीमा परेको छ । 

 

त्रियुगा नगरपालिका- १४ साउने धाप्लाङ एवं खोटाङ बाराहापोखरीको गाउँपालिका-३ फाक्टाङबीच र चौदण्डीगढी नगरपालिका- १ रानीटार अनि भोजपुर जोड्ने दूधकोसीमा पुल निर्माण अगाडि बढेको थियो ।

 

ठेकेदारले पुल अलपत्र पारेपछि तीनै जिल्लाका स्थानीय सरकार आक्रोशित भएका छन् । ०७७ असार मसान्तभित्र निर्माण सक्ने गरी सम्झौता भएको पुलको कामले गति नलिएको चौदण्डीगढी नगरपालिका नगरप्रमुख खगेन्द्र राई बताउँछन् । 

 

‘पुल निर्माणलाई गति दिन प्रदेश मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइसकेका छौं । बदमासी गर्ने ठेकेदारलाई कारबाहीका लागि आग्रह पनि गरिएको छ’, राईले भने ।

 

रानीटारस्थित पुलको लागत स्टिमेट २२ करोड २५ लाख रुपैयाँ छ । पुल पाँच स्पानको, दुई सय मिटर लम्बाइ र डेढ मिटर पैदल मार्गसहित १० मिटर चौडाइको हुनेछ । पुलको दुवैतर्फ गरी ६ सय मिटर नदी नियन्त्रण गर्ने प्राविधिक स्टिमेटसमेत छ ।


पुलको काम छिटो बनाउन निर्माण कम्पनीलाई सरोकारवाला निकाय र जनस्तरबाटै दबाब दिने तयारीमा भइरहेको उनले जानकारी दिए । त्रियुगा नगरपालिका- १४ साउने धाप्लाङस्थित पुलको लागत २२ करोड ५ लाख रुपैयाँ छ ।

 

पुलको दायाँबायाँ गरी ५ सय मिटर नदी नियन्त्रण गरिनेछ । पुल निर्माणको रेखदेख जिम्मा पुल योजना कार्यालय पूर्वी सेक्टर नम्बर- १ धरानले पाएको छ । पुल योजना कार्यालय धरानका डीई कैलाश देवले दुवै पुलको काम २० प्रतिशत भएको र चालू आर्थिक वर्षमा देखिने गरी काम गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको बताए ।


‘ठेक्का सम्झौताअनुरुप ०७७ असार मसान्तमा निर्माण गरिसक्नुपर्ने उल्लेख भए पनि डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको हो । गत आर्थिक वर्ष कोभिडका कारण काम गर्न नसक्ने ठेकेदारलाई सरकारले नै ६ महिना म्याद थपेको छ । आउँदो ०७७ पुस मसान्तसम्म म्याद रहेकाले पुल निर्माण हुने आशमा छौं’, डीई देवले भने ।

 

पहिला डिजाइनपछि विविध कारण देखाउँदै ठेकेदारले काम नगरेको स्वीकार्दै डीई देव अब चाँडो काम गर्न ठेकेदारलाई निर्देशन दिइएको दाबी गर्छन् । पुल निर्माणपछि जिल्लाबासीको आर्थिक तथा व्यापारिक गतिविधि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई सुनाउँछन् । 

 

ठेकेदारले भने कार्यस्थल पुग्ने पहुँच मार्ग अभावमा ठूला सवारी साधन लैजान समस्या भएपछि पुल निर्माणमा ढिलाइ भएको दाबी गर्छन् ।