close

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्ति गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ जना उम्मेदवारको आवेदन परेको हो । 


एक जना गाउँपालिका हवल्दार र चार जना गाउँपालिका प्रहरी जवान भर्नाका लागि गाउँपालिकाले गत १३ कात्तिकमा विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिन मंगलबारसम्ममा प्रहरी हवल्दारका लागि सात जना र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मणिचन्द्र राईले जानकारी दिए । 


गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना गरिने गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो । सात वटा वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 


गाउँ हवल्दारका लागि एसईई वा सो सरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको थियो । हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । 


उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

 

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरीसँगै चार जना अहेव (सहायक चौथो) र तीन जना अनमी (सहायक चौथो) नियुक्तिका लागिसमेत दरखास्त आह्वान गरेको थियो ।