close

बाँकेमा बढ्दै कोरोना संक्रमण

उद्योगी व्यवसायीद्वारा निषेधाज्ञा हटाउन माग, जिल्ला प्रशासनद्वारा अस्वीकार 

बाँकेमा बढ्दै कोरोना संक्रमण

उद्योगी व्यवसायीद्वारा निषेधाज्ञा हटाउन माग, जिल्ला प्रशासनद्वारा अस्वीकार 

Trulli
ADVERTISEMENT

जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि संक्रमितको ग्राफ उकालो लाग्न सुरु भएको छ । स्थानीय प्रशासनले संक्रमण घटाउन साताको दुई दिन निषेधाज्ञा लगाएको छ ।

उद्योगी व्यवसायीले जनजीवन प्रभावित भएको भन्दै स्थानीय प्रशासनद्वारा लगाइएको साताको दुई दिने निषेधाज्ञा हटाउन माग गरेका हुन् ।

जिल्लामा कोरोना संक्रमितको संख्यासँगै ज्यान गुमाउनेको संख्यासमेत पछिल्लो समय बढ्दै गएको छ । बाँकेमा हालसम्म ३ सय २८ महिलासहित १ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हालसम्म जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् ।

बाँकेबाट हालसम्म ९ सय ८५ जना कोरोना मुक्त भएका छन् । यद्यपि विभिन्न आइसोलेसन सेन्टरमा रहेका अझै ३ सय ७१ जना संक्रमित डिस्चार्ज हुन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीमध्ये १ सय १६ महिला छन् भने २ सय ५५ जना पुरुष छन् ।

बाँकेका संक्रमितमा निको हुने दर ७२ दशमलव २१ प्रतिशत छ भने बिरामीमा मृत्यु हुने दर शून्य दशमलभ ५९ र रोगको प्रकोप दर शून्य दशमलव २३ प्रतिशत रहेको कोरोना फोकल पर्सन श्रेष्ठ बताउँछन् ।

संक्रमित मध्ये ८४ जनामा मात्रै कोरोनाको लक्षण देखिएको उनले बताए । कोरोना समुदाय स्तरमा फैलिएपछि बाँके प्रशासनले भने गत भदौ २० देखि साताको २ दिन (शुक्रबार र शनिबार) निषेधाज्ञा जारी गर्दै आएको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साताको दुई दिन पूर्ण रूपमा बन्द गर्दा संक्रमण दर केही मात्रामा भए पनि नियन्त्रण हुने अपेक्षा गरिएको बताए । ‘यसको मतलव अन्य दिन भीडभाड गर्ने र सचेतना नअपनाउने भनेको होइन,’ उनले भने ।

साताको २ दिने निषेधाज्ञाले समुदाय स्तरमा कोरोना संक्रमण दर नियन्त्रण गर्न केही सहयोग पुग्ने उपाध्यायको तर्क छ । जनता आफंै सचेत हुनु नै अन्तिम विकल्प भएको उनले बताए ।

बाँके प्रशासनले लगाउँदै आएको दुई दिने निषेधाज्ञाप्रति नेपालगन्ज उद्योग वाणिज्य संघले असहमति जनाउँदै आएको छ । ‘साताको २ दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरिनु अवैज्ञानिक हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले भने । 

अर्थतन्त्र ध्वस्त भइसकेको र कतिपय व्यापारीहरुले आत्महत्यासम्मको बाटो रोज्न थालेकाले निषेधाज्ञा लगाउन नहुने उनको जिकिर छ । ‘मजदुरी गरेर खाने मान्छे भोकभोकै परेका छन् । यसरी कति दिन अथवा कति महिना चल्छ ? अब जनता आफैंले सावधानी र सतर्कतासहित आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,’ उनले थपे । 

बैंकले ब्याज र किस्तामा कुनै छुट नगर्ने तर स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञाको निहुँमा व्यवसायीलाई नै मर्का पर्ने गरी बन्द गराउँदा झनै पीडा थपिएकाले विकल्प खोजिनुपर्ने वलीको भनाइ छ ।

निषेधाज्ञाका कारण बाँकेमा उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा बिक्री वितरण प्रभावित भएको संघको दाबी छ ।  संघले आगामी १ असोजदेखि लागू हुने गरी निषेधाज्ञालाई सधैंका लागि हटाउने विषयमा पुनर्विचार गर्न माग राख्दै आएको छ ।