close

उदयपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

उदयपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण दर्ता सुरु गरेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा तत्कालका लागि कार्यालयबाटै यो सेवा प्रवाह गर्न थालिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।


प्रजिअ पाण्डेका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि हाल कार्यालयमा नागरिकताको प्रमाणपत्र, राहदानी प्रमाणपत्रलगायतका सेवा लिन आउने सर्वसाधारणको स्वतः विवरण संकलन गरिनेछ ।


अन्यको हकमा नागरिकताको प्रमाणपत्र, ठेगाना फरक भए बसाइँसराइ, आमाबाबुको नागरिकताको प्रतिलिपि, पतिपत्नीको नाम नभएको नागरिकता भए विवाह दर्तासहितको कागजातसहित आफैंँ उपस्थित हुनुपर्नेछ । 


‘स्थानीय वडा तहसम्म अभियानकै रूपमा कार्यालयबाट टोली खटाएर विवरण संकलन नगरिने हुँदा कार्यालयमै आएर दर्ता गर्न/गराउन अनुरोध गरेका छौं’, प्रजिअ पाण्डेले भने ।


कम्प्युटरमा सफ्टवेयरमार्फत परिचयपत्र वाहकको औँठा छाप, आँखाको आइरिस र मुखाकृतिको फोटो लिइनेछ । सोहीअनुसार दर्ता नम्बर कायम भएपछि स्मार्ट कार्ड तयार गरी सर्वसाधारलाई वितरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार विवरण संकलन सुरु गरिएको उनले जानकारी दिए ।

 

ऐनअनुसार अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न र ऋण लिन, चलअचल सम्पत्ति किनबेच गर्न, पेन्सन तथा सामाजिक सुरक्षा भत्ता लिन, शेयर किनबेच, लोकसेवा आयोगको फारम भर्न, पासपोर्ट बनाउनलगायतका सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुनै पर्ने भएकाले कार्यालयले वैयक्तिक विवरण दर्ता सुरु गरेको हो ।