close

चौदण्डीगढी केन्द्रमा ठडियो ‘बेल स्तम्भ’

चौदण्डीगढी केन्द्रमा ठडियो ‘बेल स्तम्भ’

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ बेलटार बजारमा ‘बेल स्तम्भ’ निर्माण भएको छ । तीन वर्षअघि सुरु भएको नगरपालिका र प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बहुवर्षीय योजनाअन्तर्गत स्तम्भ निर्माण सम्पन्न भएको हो ।  


करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको आकर्षक बेलको आकृतिले नगरको शोभा बढाएको छ । नगरपालिका मुकाम बेलटार बजारको पुष्पलाल चोक नजिकै झन्डै अढाई कठ्ठा खाली जमिनमा घेराबेरा, फाउन्डेसन र फूलबारीसहितको बेल स्तम्भ निर्माण भएपछि बजारको रौनक अर्कै बन्न पुगेको छ ।


स्थानीयका अनुसार बेलटार बजार झन्डै चार दशकअघि जस्तै अस्तित्वमा आएको हो । बजार सुरु हुँदाताका त्यहाँ हरेक बिहीबार हटिया लाग्ने गरेको थियो । बजारको बीचमा खाली जमिनमा बेलको रूख थियो । सोही रूख वरिपरि हटिया भर्न आउने व्यापारी र उपभोक्ता बसेर आराम गर्थे ।  

 

हरेक साता लाग्ने हटियामा भोजपुर, खोटाङ र उदयपुरका माथिल्लो भेगबाट नुन, तेल, मसला, चामललगायत उपभोग्य सामग्री खरिद गर्न आउने ढाकरेको भारी बिसाउने, आराम गर्ने, बास बस्ने र स्थानीय टहलिने ठाउँमै अहिले बेलको स्तम्भ निर्माण गरिएको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए ।


पहिला बेलको रूख भएको टार (सम्म) जमिन भएकाले त्यसको नाम बेलटार रहन गएको इतिहास छ । पछि उक्त स्थानलाई कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको शालिक बनाएर ‘पुष्पलाल चोक’ नामकरण गरिएको हो । 

 

स्थानीय तह पुनर्संरचनापछि जनप्रतिनिधि निर्वाचित भएलगत्तै सो ठाउँलाई पार्किङ बनाउने अवधारणा अघि सारेर सिँगार्ने काम सुरु भएको नगरप्रमुख राईले बताए । 

 

‘तीन वर्षयता घेराबेरा, सोलिङलगायत पार्किङ व्यवस्थापन गरिँदै आएको सो ठाउँमा नगरपालिकाले ३५ लाखभन्दा बढी खर्च गरिसकेको छ । प्रदेश सांसद विमल कार्कीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत आव २०७५/०७६ मा २० लाख र आव २०७६/०७७ मा पाँच लाख लगानी गरेर पार्कमा बेलको दानासहितको स्तम्भ निर्माण सम्पन्न भएको हो’, नगरप्रमुख राईले भने । 


नगरपालिकाले प्रदेश सरकारको लगानीमा स्थानीय प्रेम सुवेदी अध्यक्षताको उपभोक्ता समितिले स्तम्भ निर्माण सम्पन्न गरेर नगरलाई हस्तान्तरण गरेको हो । स्तम्भ र पार्किङको सुरक्षा, रेखदेख र मर्मतसम्भारको काम नगरपालिका स्वयंले गर्ने जिम्मेवारी लिएको नगरप्रमुख राईले बताए । 

 

स्तम्भसहितको पार्किङले नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा लिइएको उनको भनाइ छ । मुख्य बजार क्षेत्र र गाईघाट-बेलका तथा सिद्धिपुर-बेलटार आउजाउ गर्ने चौबाटो भएकाले निर्मित बेलको दानासहितको स्तम्भले बेलटार बजारको शोभा बढाएको स्थानीय बताउँछन् ।

 

‘अहिले पनि बिहीबारका दिन बाक्लो बजार लाग्ने बेलटार चौदण्डीगढीको मुख्य व्यापारिक केन्द्र रहेको छ । स्तम्भले नगरपालिकाको चिनारी झल्काउनेछ’, स्थानीय केदार कटुवालले भने ।