close

व्यास नगरको निर्णय : मानहुँकोटमा दैनिक ३ सयले मात्र प्रवेश अनुमति पाउने

व्यास नगरको निर्णय : मानहुँकोटमा दैनिक ३ सयले मात्र प्रवेश अनुमति पाउने

Trulli
ADVERTISEMENT

तनहुँ - दैनिक हजारौँ पर्यटक मानहुँकोट आउन थालेपछि व्यास नगर कार्यपालिकाको २४ सदस्यीय टिम पनि मानहुँकोटको डाँडोमा उक्लियो । व्यास नगरपालिका- ५ मा पर्ने मानहुँकोटको डाँडोमै पछिल्लाे कार्यपालिकाको बैठक बस्यो । कार्यालयबाहिर व्यास नगरको कार्यपालिका बैठक बसेको यो पहिलो पटक हो ।


पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाइ बनेको मानहुँकोटको पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्‍याउन त्यहीँ बैठक बसेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठ बताउँछन् । ‘मानहुँकोटले व्यास क्षेत्रको पर्यटनमा आशा जगाएको छ’, उनले भने, ‘अब यसको विकाससँगै प्रवर्द्धनमा लाग्छौँ ।’ 


दशैँयता दैनिक हजारभन्दा बढी पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । गत शनिबार १५ हजारभन्दा बढी यहाँ पुगे । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको अवस्थामा मानहुँकोटमा यति धेरै भीड हुँदा जिल्लामा जोखिम बढेको टीकाटिप्पणी हुन थालेपछि नगरपालिकाले दिनमा ३०० जनालाई मात्र प्रवेश अनुमति दिने भएको छ । 


‘वडा कार्यालयमा अनिवार्य नाम दर्ता गरी स्वास्थ्य र सुरक्षाको मापदण्डलाई पालना गर्दै मानहुँकोटमा दृश्यावलोकनका लागि अनुमति दिइन्छ’, उनले भने ।


मानहुँकोटमा पर्यटकको ओइरो लागे पनि पूर्वाधारको अभाव देखिन्छ । शौचालय, प्रतीक्षालय, पिउने पानी, सवारी पार्किङ, सुरक्षा र सरसफाइको पर्याप्त प्रबन्ध छैन यहाँ । दमौलीको चापाघाटबाट छ किलोमिटरको दूरीमा पर्ने मानहुँकोट जाने सडक संघीय सरकारको बजेटबाट कालोपत्रे हुँदै छ । तर, कोरोना कहरले अहिले सडकको काम ठप्प छ । 


मानहुँकोटमा बास बस्न चाहनेहरू होटल, होमस्टेको अभावमा दमौली बजारदेखि भाडामा ल्याएको टेन्टमा रात कटाउँछन् । 


मानहुँकोटलाई व्यवस्थित बनाएर विकास गर्न गुरुयोजना बनाउने निर्णय भएको सोही वडाका अध्यक्षसमेत रहेका नगर प्रवक्ता श्रेष्ठले बताए । ‘तत्कालै शौचालय निर्माण, खानेपानीको  व्यवस्थापन र मानहुँकोटको मौलिकता संरक्षण हुनेगरी गुरुयोजना तयार पार्दै छौँ । त्यसका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ’, उनले भने । 


प्रवक्ता श्रेष्ठका अनुसार गुरुयोजना तयार पार्नलाई मानहुँकोटको जग्गा किनबेचमा रोक लगाइएको छ । सोमबारदेखि पुस मसान्तसम्म जग्गा किनबेचमा रोक लगाइएको हो । ‘पर्यटक बढ्न थालेपछि यहाँको जग्गा किनबेच बढेको छ । नगरपालिकाले गुरुयोजना बनाउँदै छ । जग्गा किनबेचले असर गर्ने ठानेर रोक लगाएका हौँ’, उनले भने । 


व्यास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिचान गरिएको गन्तव्य हो मानहुँकोट ।

 
दमौली बजारलाई कुहिरोले डम्मै ढाकेर सूर्योदय भएको दृश्यले पर्यटकलाई लोभ्याएको वडा अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्यपान गर्न सकिन्छ’, उनी थप्छन्, ‘दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले मत्स्यगन्धासँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको कथन छ ।’