close

बैतडीका ८४ वडामध्ये १२ काे मात्र छ आफ्नै भवन

बैतडीका ८४ वडामध्ये १२ काे मात्र छ आफ्नै भवन

Trulli
ADVERTISEMENT

बैतडी -   बैतडीका ८४ वडाहरूमध्ये १२ वटा वडाले मात्र आफ्ना नयाँ भवन निर्माण गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्षभन्दा बढी भइसके पनि धेरैजसो पालिकाहरूले एक, दुई वडा भवन मात्र बनाएका छन् भने केहीले एउटा पनि वडा भवन बनाएका छैनन् । 


आफ्नै वडा भवन नहुँदा काम गर्न निकै समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । पञ्चेश्वर गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २ का अध्यक्ष दशरथ मंगोलाले भने, ‘हाम्रो गाउँपालिकामा अहिले एउटा मात्र वडाको भवन निर्माण भएको छ र अन्य सबै साविकका गाविस रहेका निकै पुराना र जीर्ण भवनबाट सेवा दिँदै आएका छौँ । 


हामीले सेवा दिइरहेका भवनहरू बर्खामा चुहिने खालका छन् । त्यसै पनि कृषि, भेटेरिनरी, योजना, प्रशासन सबै शाखाको काम एकै कोठाबाट सञ्चालन गर्नुपर्ने अवस्था छ । सेवा प्रवाहमा समस्या भएको छ ।’ 


आफ्नै भवन नभएका सबैजसो वडाको हालत नाजुक रहेको सम्बन्धित वडाका जनप्रतिनिधि बताउँछन् । 


सिगासमा ११ नयाँ भवन   


बैतडीको सबैभन्दा दुर्गममा रहेको सिगास गाउँपालिकाले अन्य पालिकाभन्दा बढी भवन निर्माण सम्पन्न गरेको छ । जिल्लाभरका १२ वटा नयाँ वडा भवनमध्ये सिगास गाउँपालिकाले छवटा वडा भवनहरू निर्माण गरेको छ ।


यसका साथै गाउँपालिकाको कार्यालयसहित जम्मा ११ वटा भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने, ‘हामीले गाउँपालिकाको प्रशासकीय भवन, प्रहरी चौकी, कर्मचारी आवास, अध्यक्ष निवासलगायत भवनहरू निर्माण गरेका छौँ । सबैभन्दा पहिला हामीलाई काम गर्ने ठाउँ आवश्यक हुने भएकाले यी भवनहरू बनाएका हौँ ।’ 


आफ्नै भवनबाट काम गर्दा निकै सजिलो भएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए । सिगासमा अहिले वडा नं. १, ३, ४, ५, ७ र ९ मा आफ्नै सुविधा सम्पन्न भवनहरू बनिसकेका छन् । सिगासमा वडा भवनहरू १०-१० लाख रुपैयाँ रकमको लागतमा निर्माण भएको बताइएको छ ।
 

यस्तै, जिल्ला सदरमुकाममा रहेको दशरथ चन्द नगरपालिकामा अहिले वडा नम्बर ७ र ८ को भवन निर्माणाधीन अवस्थामा छ । पाटन नगरपालिकाको वडा नम्बर ९, ७ र ३ मा नयाँ भवन निर्माण भएका छन् भने वडा नम्बर १० र ४ मा भवन निर्माणको काम भइरहेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । उनले भने, ‘हाम्रो नगरपालिकाका १० वटा वडामध्ये तीन वटा वडामा नयाँ भवन बनेका छन् र दुई वडामा यस वर्ष निर्माणाधीन अवस्थामा छन् ।’


जिल्लाको शिवनाथ गाउँपालिकामा तीन वडामा अहिले भवन निर्माणको काम भइरहेको उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले गाउँपालिकाको नयाँ भवन निर्माण गर्‍यौँ । अब वडाका भवन निर्माणको काम गरिरहेका छौँ । अहिले साविकका गाविस भवनबाट काम सञ्चालन गरिरहेका छौँ ।’


जिल्लाको मेलौली नगरपालिकाका नौवटा वडामध्ये वडा नं. ७ र ९ मा मात्र आफ्ना पुराना भवन छन् भने अन्य वडाहरूमा भाडाका घरमा सञ्चालन भइरहेका छन् । चालू आर्थिक वर्षमा केही वडाका नयाँ भवन बनाउने तयारी भएको नगर प्रवक्ता सुरतसिंह नेगीले जानकारी दिए ।


यस्तै, दोगडाकेदार गाउँपालिकाका आठवटा वडामध्ये कुनैमा पनि नयाँ भवन बनेका छैनन् । केही वडामा पुराना भवन र केही भाडाका घरमा सञ्चालन भइरहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।


जिल्लाको सुर्नया गाउँपालिकाको वडा ३ मा मात्र नयाँ भवन बनेको छ । अन्य वडा कार्यालयहरू साविकका गाविस भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन् । पुर्चौडी नगरपालिकाको वडा ७ मा नयाँ भवनबाट सेवा सुचारु भएको छ भने अन्य चारवटा वडामा भवन निर्माण कार्य भइरहेको छ । डिलाशैनी गाउँपालिकामा पनि सावटै वडामा पुराना भवनबाट सेवा प्रवाह भइरहेको छ ।