close

पुर्चौडीमा तयार भयाे कोभिड अस्थायी अस्पताल

पुर्चौडीमा तयार भयाे कोभिड अस्थायी अस्पताल

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकारले कोभिड अस्थायी अस्पताल निर्माणका लागि १० लाख रकम पठाएपछि पुर्चौडीले अस्पताल सञ्चालनमा ल्याएको हो ।


पुर्चाैडीले जिल्लाकै पहिलो पटक कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका अन्य स्थानीय तहहरूले पनि अस्पताल सञ्चालन प्रक्रिया सुरु गरेका छन् । अन्य स्थानीय तहमा मेडिकल अधिकृत पाउनै मुस्किल भएको स्थानीय तहका स्वास्थ्य शाखाहरूले जनाएका छन् ।

 

पुर्चौडीमा एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको दरबन्दी पदपूर्ति गरेर सोमबारदेखि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाका सिनियर अहेब अधिकृत हेमराज भट्टले जानकारी दिए ।

 

‘नगरपालिकाले हाट स्वास्थ्य चौकीको पुरानो भवनमा ५ शैयाको अस्पताल सञ्चालनमा ल्याइएको हो । नगरमै कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएपछि कोरोना बिरामीको उपचारका लागि सजिलो हुनेछ,’ भट्टले भने ।

 

कोभिड अस्थायी अस्पतालमा कोरोना संक्रमितको उपचार गरिनुका साथै शंका लागेका व्यक्तिको स्क्रिनिङ, स्वाब संकलन, भर्ना, परामर्शलगायत सेवा दिइनेछ ।

 

संघीय सरकारले दशरथचन्द नगरपालिकाबाहेकका सबै स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि बजेट पठाएको छ । तर, अन्य स्थानीय तहले अझै पनि मेडिकल अधिकृत पाउन सकेका छैनन् । तत्कालका लागि तीन महिना सञ्चालन गर्ने हिसाबले कोभिड अस्थायी अस्पतालको अवधारणा आएको स्वास्थ्य कार्यालयका प्रमुख भट्ट बताउँछन् ।