close

उदयपुरका सबै खोला निषेधित क्षेत्र घोषित

उदयपुरका सबै खोला निषेधित क्षेत्र घोषित

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिले जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय तहहरूको समन्वयमा चाडपर्वलाई लक्षित गरी डिसीसीएमसीको बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले मंसिर ५ र ६ मा जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

 

चाडपर्वमा धेरै भीडभाड हुँदा संक्रमण ह्वात्तै बढ्न सक्ने आशंकामा बैठकले ५ मंसिर दिउँसो ३ बजेदेखि ६ मंसिरसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौँडिया, कटारीको तावाश्रीलगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

 

बैठकले अघिल्ला वर्षमा खेलिँदै आएको देउसीभैलो कार्यक्रम पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ । देउसीभैलोको नाममा घरघरमा संक्रमण सर्ने खतरा रहेकाले प्रतिबन्ध लगाइएको हो । ‘भाइटीका, दीपावली, छठ, देउसीभैलो पर्व समूहगत रूपमा मनाउन, जम्मा हुन र भीडभाड नगर्न निषेध गरिएको छ', प्रजिअ पाण्डेले भने, ‘पालना नभए कारबाही गरिनेछ ।

 

बैठकले चाडपर्व घरपरिवारभित्र मात्र मनाउन र मठमन्दिरमा गरिने नित्य पूजाबाहेक मठमन्दिर, सार्वजनिक स्थल, नदी र तालतलैयामा समूहमा भेला नहुन, सांस्कृतिक कार्यक्रम नगर्न, फुटबल भलिबल प्रतियोगिता नगर्न, देउसीभैलो नखेल्न, पटका, भुइँचम्पा, आतिसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सर्वसाधारणलाई जानकारी गराउने निर्णय गरेको छ । 

 

त्यसैगरी संक्रमण रोकथामसम्बन्धी सचेतनाका लागि सबै स्थानीय तहले टोलटोलमा माइकिङ तथा सञ्चार माध्यमबाट नियमित रूपमा कार्यक्रम संचालन गर्ने, जनसमुदायलाई अनिवार्य मास्क प्रयोगमा जोड दिने, सामाजिक दूरी कायम राख्ने, स्यानिटाइजर वा साबुनपानीले हात धुन अपिल गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले जानकारी दिए । 

 

महामारी अझै बढ्न सक्ने र अक्सिजन अभावमा धेरै नागरिकको ज्यान जान सक्ने भएकाले सबै स्थानीय तहले आआफ्ना क्षेत्रमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आइसोलेसन वार्ड, अक्सिजनलगायतका थप आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

 

कटारी नगरपालिका- १ बेलसोतमा अवस्थित नेपाली सेनाको सुरक्षा गुल्मको भवनमा प्रदेश स्तरीय क्वारेन्टाइन संचालन गरिएको र हाल प्रयोगमा नआएकाले नेपाली सेनालाई आफ्नो आन्तरिक आइसोलेसन सेन्टर व्यवस्थापनको रूपमा कार्य गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।

 

हाल जिल्लामा आठ हजार ३६९ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएकामा २६५ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८९ जना उपचारपछि निको भई घर फर्केका छन् ७६ जना संक्रमित उपचाररत छन् ।