close

सहकारी संचालनमा आमा समूहलाई प्रोत्साहन

सहकारी संचालनमा आमा समूहलाई प्रोत्साहन

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामूहिक रूपमा बचत गर्दै आएको आमा समूहमार्फत सहकारी संचालनको तयारी थालेको छ । मासिक रूपमा बचत गर्दै आएका आमा समूहको आर्थिक कारोबारलाई वैधानिकता दिएर सहकारीको शैलीमा कारोबार गर्ने व्यवस्थाका लागि गाउँपालिकाले बचत गर्दै आएको आमा समूहलाई सहकारी संचालनका लागि प्रोत्साहनका कार्यक्रम ल्याएको हो । 


मासिक बचतबाट कतिपय आमा समूहमा ५०-६० लाख रुपैयाँ रकम जम्मा भइसकेकाले त्यस्ता बचत गर्ने आमा समूहलाई सहकारी दर्ता गरेर आर्थिक कारोबार गर्न भनिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । ऋण लगानी गर्दा जमानी राख्ने, धरौटी राख्ने, तमसुक गर्नेलगायतका व्यवस्थाले संकलन भएको पैसा फस्नबाट बचाउन सकिने भएकाले आमा समूहलाई सहकारीका माध्यमबाट आर्थिक कारोबार गर्न भनिएको हो । 


आमा समूहमा आवद्ध महिलाले संकलन गरेको लाखौँ रुपैयाँलाई सहकारीका रूपमा वैधानिकता दिन सके राज्यलाई कर संकलन हुने, बचतमा राज्यले निगरानी गरिदिने र जम्मा भएको फैसा डुब्नबाट बचाउन सकिने व्यवस्थाको सुनिश्चित हुने गाउँपालिका अध्यक्ष राईले बताए । मासिक रूपमा जनही पाँच रुपैयाँदेखि १०० रुपैयाँसम्म बचत गर्दै आएको आमा समूहलाई सहकारी संचालनका लागि विधान तयार पार्ने, दर्ता गर्नेदेखि अडिटको व्यवस्था स्वयं गाउँपालिकाले गरिदिने जनाएको छ । 


माइन्युटमा लेखेर बचत गर्ने, ऋण लगानी गर्ने र साँवा, ब्याज संकलन गर्दै आएको आमा समूहलाई सहकारी संचालनका लागि प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा नीति तथा कार्यक्रम नै पारित गरेको थियो । 


सातवटा वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७८ वटाभन्दा बढी बचत गर्ने आमा समूह क्रियाशील छन् । सम्भव भएसम्म हरेक आमा समूहलाई सहकारी स्थापना गरेर आर्थिक क्रियाकलाप गर्न वा संयुक्त रूपमा एउटा वडामा एउटा सहकारी बनाउनका लागि आग्रह गरिएको अध्यक्ष राईले बताए । 


‘टोलटोलका आमा समूहले ऋण पनि लगानी गरिरहेका छन्, उठाइ पनि रहेका छन्, जम्मा पनि गरिहेका छन् । तर, त्यो कारोबार सिस्टममा छैन । अब आमा समूहमा रहेका पैसालाई कलेक्टिभ रूपमा वैधानिकता दिने हो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘कुनै आमा समूहमा ५०-६० लाख चलखेल भइरहेको छ । त्यो पैसालाई वैधानिकता दिएर जान सके राज्यलाई कर पनि उठ्छ, राज्यले निगरानी पनि गरिदिन्छ र पैसा फस्नबाट पनि बचाउन सकिन्छ ।’ 


मासिक बचत गर्दै आएको आमा समूहलाई सहकारी संचालनका लागि प्रोत्साहन गर्न गाउँपालिकाले शनिबार अभिमुखीकरण कार्यक्रम पनि गरेको छ ।