close

सडक र वनजति नगरपालिकाका डम्पिङ साइट

सडक र वनजति नगरपालिकाका डम्पिङ साइट

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीका नगरपालिकाहरूले फोहोर निकासका लागि व्यवस्थित डम्पिङ साइट नबनाउँदा सडक-वन क्षेत्र प्रदूषित हुन थालेका छन् । जिल्लाको सबैभन्दा पुरानो दशरथचन्द नगरपालिकाले स्थापनाकालदेखि नै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाउन सकेको छैन ।

 

राज्य पुनर्संरचनापछि नगरपालिकाको क्षेत्र विस्तार हुँदा फोहर व्यवस्थापनामा झनै भद्रगोल भएको छ । दशरथचन्दले स्थापनादेखि नै सदरमुकाम नजिकै सडक छेउमै फोहोर राख्ने गरेको छ ।

 

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापन गर्न वडा-४ मा जमिनसमेत खरिद गरेको छ ।  तर, त्यहाँका स्थानीयले डम्पिङ साइट निर्माण गर्न दिएनन् ।’ जमिन किनेको ठाउँमा स्थानीयले फोहोर फाल्ने ठाउँ बनाउन नदिएपछि सडक किनारा विकल्प बनेको हो ।’

 

छेला दुर्गाभवानी सडक छेउमा नगरपालिकाले डम्पिङ साइटका लागि जमिन खरिद गरेको छ । सडक छेउमा नगरपालिकाको फोहोर थुुपार्दा दुर्गन्ध फैलिन थालेको स्थानीय बताउँछन् । ‘बैतडी सदरमुकामको मुख्य बजार गोठलापानी पुग्नुभन्दा दुई सय मिटर वर फोहोर फाल्ने गरिएको छ । नयाँ मान्छे बैतडी आउँदा फोहोरले स्वागत गरेको महसुस हुन्छ’, स्थानीय देवराम लोहारले भने ।

 

स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठीका अनुसार डम्पिङ साइटका लागि जग्गा किनेको भनेर नगरपालिकाले १२ लाख खर्चिए पनि कहिले बन्ने हो, टुंगो छैन । नगरपालिकामा भ्रष्टाचारबाहेक अरु काम ढिलो हुने गरेको उनको अनुभव छ । 

 

नगरपालिका स्थापनादेखि नै फोहोर व्यवस्थापनमा चुकेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट बताँछन् । ‘सबै प्रकारका फोहोर एकै ठाउँ राख्दा झनै जोखिम बढाएको छ । नगरले ०५४ यता अस्थायी रुपमै फोहोर व्यवस्थापन गरिरहेको छ । व्यवस्थित डम्पिङ साइट नहुँदा नगर नै दुर्गन्धित हुन पुगेको छ’, भट्टले भने ।


जिल्लाको पाटन नगरपालिकासँग पनि डम्पिङ साइट अभाव छ । नगरपालिकाले पछिल्लो समय पाटन बजार नजिकैको घाङल खोलामा फोहोर फाल्ने गरेको छ । यो फोहर सीधै सुर्नया नदीमा मिसिन्छ ।


पाटनमा नयाँ सहर आयोजनाले डम्पिङ साइट निर्माण गर्ने भने पनि अहिलेसम्म टुंगो लागेको छैन । ‘अहिले अस्थायी रुपमै घाङल खोलामा फोहर व्यवस्थापन गरिरहेका छौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले भने ।

 

जिल्लाको नयाँ नगरपालिका मेलौली र पुर्चौडीले पनि डम्पिङ साइट बनाएका छैनन् । मेलौलीको काँडा बजारको फोहोर बजार व्यवस्थापन समितिले नै व्यवस्थापन गर्दै आएको छ ।

 

नगरपालिकाले तत्काल डम्पिङ साइटका लागि केही निर्णय नगरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी  दिए । उनले भने, ‘अबको कार्यपालिका बैठकमा यो विषयमा केही कुराकानी होला । अहिलेसम्म त्यस्तो केही निर्णय भएको छैन ।’


पुर्चौडी नगरपालिकाले पनि अहिलेसम्म अस्थायी रुपमै फोहोर व्यवस्थापन गरिरहेको छ । प्रत्येक पसलमा डस्टबिनको व्यवस्था गरेर फोहोर व्यवस्थापन गरिरहेको उपप्रमुख जानकी बमले बताइन् । उनले भनिन्, ‘अहिले हामीले डम्पिङ साइट निर्माणका लागि जमिनको खोजी गरिरहेका छौं । यो वर्ष डम्पिङ साइट निर्माण गर्ने निर्णय भएको छ ।’

 

घर तथा बजारबाट निस्कने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।