close

तलब काटेर दीर्घरोगीको उपचार, चन्दा बटुलेर क्वारेन्टाइन

तलब काटेर दीर्घरोगीको उपचार, चन्दा बटुलेर क्वारेन्टाइन

Trulli
ADVERTISEMENT

पोखरा- पोखरा महानगर भए पनि यहाँका धेरै वडाहरू अझै गाउँ जस्ता छन् । महानगरपालिका बन्दा सिधै गाविसबाट गाभिएकाले स्वास्थ्य सेवादेखि सहज सडकको पहुँचपनि  कतिपय वडामा पुगेकै छैन । 


केही वडाहरूमा भर्खरै सडक ट्र्याक खुलिरहेका छन् । विकाससँग जुधिरहेको पोखरा महानगरको वडा नम्बर २० महानगरको विकटमध्येको एउटा वडा मानिन्छ । कोरोना भाइरसको संक्रमणले यहाँको जनजीवन पनि निकै थिलथिलिएको छ । 


तर, जनप्रतिनिधि असल र जिम्मेवार हुने हो भने भौगोलिक हिसाबले विकट भए पनि दुःख पाउनुपर्दैन भन्ने बुझेका छन्, मौजाका नागरिकहरूले । वडा अध्यक्ष सीम गुरुङले कोरोनाका कारण औषधि उपचारका लागि शहर झर्न नसक्ने दीर्घ रोगीहरूलाई घरघरै पुगेर औषधि बाँडे । सरकारले दिएको आफ्नै सुविधाको पैसाबाट उनले झण्डै साढे चार सय जनालाई औषधि दिएका हुन् ।


तीन लाख ११ हजार रुपैयाँ खर्च गरेर गुरुङले मुटु, मिर्गौला, दम, सुगरलगायतका ४३० जना बिरामीलाई औषधि दिएको बताए । ‘औषधि नपाएर मर्ने बेला भइसक्यो । अस्पताल जाने गाडी छैन । बिरामीहरू घरमै तड्पिएर मर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘मैले सबै घरका बिरामीको अवस्था बुझेँ । उनीहरूले खाइरहेको औषधिको नाम टिपेँ । बजारबाट औषधि लगेर सबैलाई घरघरमै पुर्‍याइदिएँ ।’ जनताको प्रतिनिधि भएपछि सबै दायित्व आफ्नो काँधमा परेको उनले बताए । 


गुरुङले औषधि मात्र बाँडेनन्, त्यतिबेला दैनिक ज्याला मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई खाद्यान्न राहत पनि वितरण गरे । १२६ परिवारलाई दाल, चामल, नुन, तेललगायत खाद्य सामग्रीको प्याकेज घरघरमै पुगेर बाँडिएको हो । ‘राहतजति मेरो व्यक्तिगत खर्चले बाँडेको हुँ । यस्तो बेला सहयोग देऊ भन्दै कता जानू ?’, उनले भने, ‘दुःख पर्दा चाहिन्छ भनेरै जनताले मलाई जिताएका हुन् । अहिले जनतालाई दुःख पर्दा म पन्छिएर भाग्न मिल्दैन ।’


अहिले लकडाउन त छैन तर सजिलोसँग निस्किएर काम गर्ने अवस्था पनि छैन । मौजा ग्रामीण क्षेत्र भएकाले खेतबारीमा काम गर्न थालिएको छ । गाउँलेहरू विपन्न छन् । खानाको जोहो गर्न नसक्नेलाई वडा अध्यक्ष गुरुङले अहिले पनि सहयोग गरिरहेका छन् । 


आजभोलि पोखरामा कोरोनाको संक्रमण झन् तीब्र रूपमा बढिरहेको छ । यही अवस्थालाई देखेर गुरुङले वडाबाटै राहत कोष स्थापना गरेका छन् । विभिन्न देश र अरू शहरमा बस्ने वडावासीहरूले नै सहयोग गरेर क्वारेन्टाइन चलाइएको छ । राहत कोषमा हालसम्म १२ लाख २८ हजार रुपैयाँभन्दा बढी संकलन भइसकेको गुरुङले जानकारी दिए । 


त्यो रकमबाट उनले क्वारेन्टाइनका लागि आवश्यक खर्च गरेका छन् । र्‍यालेचौरमा क्वारेन्टाइन स्थापना गरिएको छ । २८ साउनदेखि संचालन गरिएको क्वारेन्टाइनमा हालसम्म २८ जना बसेका छन् । उनीहरूको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भयो भने अरूको नेगेटिभ आएको छ । 


वडामा यसबाहेक १२३ जनाको पीसीआर गरिएको छ । तीमध्ये २९ जनामा पोजिटिभ देखिएको छ भने एक जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि १९ जना सक्रिय संक्रमित छन् । १२ जना उपचार गरेर घर फर्किएका छन् ।


‘सुविधा सम्पन्न क्वारेन्टाइन चलाएका छौँ । होटलमा भन्दा वडाको क्वारेन्टाइनमा खुसी छन् नागरिकहरू’, उनले भने, ‘आवश्यकताअनुसार क्वारेन्टाइन अवधि थप्दै लैजान्छु । धेरैले सहयोग गर्छु भन्नुभएको छ । महानगरबाट खासै ठूलो रकम लिएको छैन ।’


पोखरा महानगरले आफू मातहतको क्वारेन्टाइनमा बसेको सबै खर्च व्यहोर्छ तर वडा- २० को क्वारेन्टाइनको अधिकांश खर्च वडाले चन्दा उठाएर चलाएको छ । कसैले सहयोग गरे रकम लिने र कोषमा जम्मा गरिराख्ने उनको भनाइ छ । आवश्यकता पर्दा त्यसलाई परिचालन गरिने वडा अध्यक्ष गुरुङले बताए ।