close

जलजलामा कृषककै स्वामित्वमा खुल्याे कृषि बजार

जलजलामा कृषककै स्वामित्वमा खुल्याे कृषि बजार

Trulli
ADVERTISEMENT

म्याग्दी - सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ४ मोहनचोकमा कृषि र पशुजन्य वस्तुको बजारीकरणका लागि कृषि बजार खुलेको छ । जलजला कृषक समूहले स्थापना गरेको कृषि बजारमा कृषि उपज खरिद बिक्री सुरु भएको हो ।

 

कृषि उपजले बजार र मूल्य नपाउने तथा उपभोक्ताले महँगोमा किन्नुपर्ने समस्या हटाउन कृषि बजार सञ्चालन गरिएको समूहका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । ‘कृषकलाई बजार र उचित मूल्यका साथै उपभोक्तालाई सहज र सुलभ मूल्यमा गुणस्तरीय कृषि उत्पादन उपलब्ध गराउन बजार सञ्चालन गरेका हौं,’ उनले भने, ‘जलजलाका ९ वटै वडाका कृषक मिलेर बजार चलाएका छौं ।’ 

 

तरकारी खरिद बिक्री सुरु गरेको समूहले दूध, कुखुरा, खसीबोका र फलफूलको पनि व्यापार सुरु गर्ने बताएको छ । कृषकले ल्याएको तरकारी संकलन गरेर बेनी, कुश्मा र बाग्लुङका बजारमा पठाइने गरेको छ ।

 

कृषि बजार सञ्चालन भएपछि डोकामा तरकारी बोकेर व्यापारीका घरदैलो चाहर्नुपर्ने बाध्यता हट्नुका साथै समय बचत भएको धाइरिङका कृषक टीकाराम पौडेलले बताए । वडा स्तरमा गठन भएको समूहको उपसमितिले समन्वय गरेर कृषि बजारमा सामान पठाइन्छ । 

 

तीन करोडको सेयर पुँजीको कम्पनी बनाउन सेयर संकलन सुरु गरेको अध्यक्ष आचार्यले बताए । तीन सयभन्दा बढी कृषकलाई समूहमा आबद्ध गराइएको उनले जानकारी दिए । ‘कृषि बजार सञ्चालन गर्न २० वर्षका लागि आठ रोपनी जग्गा भाडामा लिएका छौं’, समूहका सचिव युवराज अर्मजाले भने । 

 

करिब ६० लाखमा कृषि बजारको संरचना तयार पारिएको उनले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको  २७ लाख ६० हजार र समूहको चार लाख ८७ हजार एक सय  २६ रुपैयाँमा कृषि उपज संकलन, भण्डारण, बिक्री तथा कार्यालय प्रयोजनका लागि चार सटरसहितको दुई भवन बनाइएको छ । 


यसैगरी खसीबोकाको खोर, आवास भवन र वधस्थल पनि निर्माण गरिएका छन् । घेराबार र पर्खाल निर्माण गर्न जलजलाले  १२ लाख ७५ हजार तथा समूहले दुई लाख २५ हजार लगानी गरेको उपाध्यक्ष कुशल जिसीले जानकारी दिए । 

 

जलजलाको नाग्लिवाङ, बनौ, धाइरिङ, शालिजा, लेकफाँट, मल्लाज र बाँसखर्क तरकारी, सुन्तला र आलु खेतीको पकेट क्षेत्र हो । यहाँका स्थानीयले व्यावसायिक गाईंभैसी, बाख्रा र कुखुरापालनलाई आम्दानीको स्रोत बनाएका छन् । 


कृषकको सुविधाका लागि कृषि बजार सञ्चालन गर्न गाउँपालिकाले सहयोग र सहजीकरण गरेको जलजला-४ का वडाध्यक्ष भीष्म मल्लले बताए । ‘कृषि बजार सञ्चालन भएपछि कृषकले उचित मूल्य र उपभोक्ताले सस्तोमा ताजा तथा गुणस्तरीय उत्पादन उपभोग गर्न पाएका छन्’, मल्लको दाबी छ ।