close

गुल्मीको मध्य भागबाटै १३२ केभिए प्रसारण लाइन विस्तार 

गुल्मीको मध्य भागबाटै १३२ केभिए प्रसारण लाइन विस्तार 

Trulli
ADVERTISEMENT

गुल्मीको बीच भाग भएर १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम सुरु भएको छ । कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिवाङसम्म ८६ किलोमिटर प्रसारण लाइन विस्तारको काम भइरहेको हो ।


चार जिल्लामा पाँच वटा सवस्टेसन निर्माण हुँदै छन् । त्यसमध्ये गुल्मीमा दुइटा सवस्टेसन निर्माण हुनेछन् । कपिलवस्तु र अर्घाखाँचीका सवस्टेसन निर्माणको काम सकिएको बुर्तिवाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण आयोजनाले जनाएको छ । प्रसारण लाइन विस्तारको काम पनि सँगसँगै भएकाले केही समयमै दुई स्टेसनमा ट्रान्समिटर चार्ज गरिनेछ ।


अहिलेसम्म ७८ वटा प्रसारण लाइनका टावर निर्माण गरिएको आयोजनाका प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए । अहिले अर्घाखाँचीको ठाडासम्म प्रसारण लाइन विस्तारको काम भएको छ ।  कोरोना संक्रमणका कारण आयोजनाका कामदारहरू घर गएकाले निर्माण अगाडि बढाउन नसकिए पनि अहिले पुनः सुरु भएको चौधरीले बताए ।


चार जिल्लामध्ये गुल्मीमा ८० करोड बढीका दुई विद्युत् सवस्टेसनको काम सुरु भएको छ । रेसुंगा नगरपालिका वडा– ७ उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी काठमाडौंले सवस्टेसन निर्माणको काम गरिरहेको छ भने मुसिकोट नगरपालिका–१ पौदी अमराईमा ३९ करोड ९६ लाखको लागतमा मुडभरी एन्ड जोशी-आर.जे. कन्ट्रक्सनले सवस्टेसन निर्माणको काम गरिरहेको बुर्तिवाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण लाइन आयोजना प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए ।

 

डेढ वर्षमा काम सक्ने गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ । पौदी अमराईमा गत फागुनदेखि जमिन सम्याउने र अन्य फाउन्डेसन निर्माणको काम भइरहेको छ । गुल्मीको रेसुंगा नगरपालिका–७ उनायचौरमा सम्झौता भएको करिब एक वर्षपछि काम सुरु भएको छ । 


अनियमित विद्युत्को समस्या भोग्दै आएका गुल्मेलीले १३२ केभिए प्रसारण लाइनका दुइटा सवस्टेसन निर्माण गरिएपछि विद्युत् उपलब्धता सहज हुनेछ । १३२ केभिए प्रसारण लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङसहित पाल्पा र पर्वतलाई समेत फाइदा पुग्ने पूर्वमन्त्री गोकर्ण विष्टले बताए । 


‘यो १३२ केभिए प्रसारण लाइनले गुल्मी र बाग्लुङ भएर बग्ने बडीघाट खोलामा उत्पादन भएको विद्युत् र प्रस्तावित उत्तरगंगा पावर हाउसलाई राष्ट्रिय प्रसारणसँग जोडेर औद्योगिक क्षेत्रसम्म विद्युत् विस्तार गर्ने उद्देश्य रहेको छ’, विष्टले भने । आफू  ऊर्जामन्त्री भएका बेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेको बताउँदै समयमै काम गर्न पनि केन्द्रदेखि आयोजना स्थलसम्म प्रयत्न गरिरहेको उनको धारणा छ ।


उनायचौर सवस्टेसनको शिलान्यास गर्दै रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले जिल्लाको मध्य भागबाट जाने १३२ केभिए विद्युत् प्रसारण लाइनले सबैलाई खुसी बनाएको बताए । दुई सवस्टेसन निर्माण र प्रसारण लाइन विस्तारको काम सकिएपछि जिल्लाबासीले भोग्दै आएको अनियमित विद्युत्को समस्या अन्त्य हुने भुसालको भनाइ छ ।  जनताको आशा पूरा गर्न निर्माण व्यवसायीले समयमै काम गर्न गर्नुपर्नेमा उनले जोड दिए । 


बुटवल योगीकुटीको १३२ केभिएको सवस्टेसनबाट ३३ केभिए विद्युत् प्रसारण लाइनमार्फत जिल्लामा विद्युत् उपयोग र विस्तारको काम हुँदै आएको छ । लामो प्रसारण लाइन हुँदा जिल्लामा विद्युत् अनियमित हुने, धेरै ठाउँमा बिग्रने समस्याले उपभोक्तालसँगै विद्युत् प्राधिकरणसमेत समस्यामा पर्ने गरेको छ । 


अनियमित विद्युत्को विषयलाई लिएर जिल्लामा थुप्रै आन्दोलन पनि भए । अनियमित विद्युत्को प्रमुख कारण ३३ केभिए प्रसारण लाइन हो । निर्माणाधीन १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनको काम सम्पन्न भए जनतालाई नियमित विद्युत् सेवा प्रदान गर्न सहयोग हुने विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।


‘विद्युत्को भरपर्दो माध्यम १३२ केभिए विद्युत् लाइनको सवस्टेसन निर्माण र प्रसारण लाइन विस्तारले स्थानीयसँगै कार्यालय पनि खुसी नहुने कुरै भएन ।’