close

सुर्नया गाउँपालिकाको किचलोः अब पविताबाट सेवा दिने तयारी 

सुर्नया गाउँपालिकाको किचलोः अब पविताबाट सेवा दिने तयारी 

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले अहिलेसम्म वडा नं.- ५ को कठ्यागौँडबाट अस्थायी रूपमा गाउँपालिकाका कामकाजहरू संचालन गर्दै आएको छ । तर, अब स्थायी केन्द्र तोकिएको ठाउँ पविताबाट सेवा दिने तयारी गाउँपालिकाले गरिरहेको छ । 

 

पछिल्लो समय सुर्नया गाउँपालिकाका केही घटना चर्चामा आइरहे । दुई वर्षअघि केही स्थानिय युवाले गाउँपालिकाका तत्कालीन लेखापाल भवानी भट्टमाथि कुटपिट गरे । त्यसपछि कर्मचारीहरू असुरक्षित भएको भन्दै गाउँपालिकाले वडा नं.- २ को सतबाँझबाट केही महिना सेवा सुचारु गर्‍यो । सतबाँझबाटै करिब चार महिना सेवा दिइए पनि फेरि वडा नं.- ५ कै कठ्यागौँडबाट सेवा सुचारु गरियो ।
   

कठ्यागौँडाबाटै सेवा दिइरहेको सुर्नयाले गत वर्ष नै वडा नं.- ५ को पवितामा स्थायी केन्द्र बनाउने निर्णय गरिसकेको थियो । उक्त निर्णयविरुद्ध केही स्थानीयवासीले सर्वोच्च अदालतमा मुद्दासमेत हालेका छन् । 
  

सोही निर्णयअनुरूप पवितामा केन्द्र सार्ने चलखेल भएको भन्ने कुरा चर्चामा आउँदा गाउँपालिकामा गत २६ असोजमा स्थानीयले तालाबन्दीसमेत गरे । २८ असोजमा उक्त ताला खोल्न गएका गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टमाथि स्थानीयले ढुंगा प्रहार गरे । ढुंगा प्रहारबाट गाउँपालिका अध्यक्षसहित १४जना घाइतेसमेत भए ।

 

उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी १६ कात्तिकमा सुर्नयाको केन्द्रबारे संघर्ष गरिरहेको पक्ष र गाउँपालिकाका जनप्रतिनिधिबीच केही समय भएको छलफलछि ताला खुल्यो । 


केन्द्र अब पवितामा सर्ने
    

अहिले सुर्नया गाउँपालिकाका नियमित कामकाज कठ्यागौँडबाटै संचालन भइरहेकाछन् । तर, अब भने गाउँपालिकाले स्थायी केन्द्र तोकेको ठाउँ पविताबाटै गाउँपालिकाका कामकाज संचालन गरिने भएका छन् ।

 

पवितामा केन्द्र सार्नका लागि गाउँपालिकाका केही कागजात र सामग्रीहरू पविता पुर्‍याइसकिएका छन् । तर, गाउँपालिकाको केन्द्र कठ्यागौँडमै हुनुपर्ने माग राख्दै आएको पक्षले भने छापामार शैलीमा सशस्त्र प्रहरीको स्कर्टिङमा सामान सारिएको आरोप लगाएको छ । 


गाउँपालिकाको केन्द्र पवितामा बनाउने कार्यपालिकाले निर्णय गरिसकेकाले पविताबाटै सेवा सुचारु गर्ने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कवीन्द्रप्रसाद ओझाले जानकारी दिए । अहिले रौलेश्वर माविको भवनमा रहेको कार्यालयमा गाउँपालिकाका विभिन्न शाखाहरू राख्ने उनले बताए ।


भवनको अभावमा गाउँपालिकाले भाडा तिरेर शाखाहरू संचालन गरिरहेकाले अब गाउँपालिकाका विषयगत शाखाहरू रौलेश्वर माविको भवनमा राखिने उनले बताए । सुर्नया गाउँपालिकाको केन्द्र साविकको ठाउँबाट सार्न नहुने भन्दै स्थानीयहरूले संघर्ष समितिसमेत गठन गरेका छन् । अहिले गाउँपालिकाको केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केन्द्र नसार्न स्थानीयहरूले आग्रह गरे पनि गाउँपालिकाले पविताबाटै गाउँसभासमेत सम्पन्न गरेको छ ।


अहिलेका लागि पवितामा रहेको भवनमा वाइरिङलगायतका अन्य भौतिक व्यवस्थापनका कामहरू भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिए ।