close

मुदीबासीको बत्ति बाल्ने सपना अधुरै

मुदीबासीको बत्ति बाल्ने सपना अधुरै

Trulli
ADVERTISEMENT

म्याग्दी - भौगोलिक रुपमा विकट म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीका बासिन्दाको वर्षौंदेखि बिजुली बाल्ने सपना अहिलेसम्म पूरा हुन सकेको छैन । मुदी र खाम्लामा विद्युतीकरण गर्न सञ्चालित योजना नेपाल बिद्युत प्राधिकरणको बेनी वितरण केन्द्रको बेवास्ता तथा निर्माण व्यवसायीको लापरबाही कारण अलपत्र परेको हो ।

 

गत चैत, वैशाखमै वायरिङ गरेका स्थानीय अझै बिजुली नबल्दा निराश छन् । लकडाउनको बहानामा गएका ठेकेदार काममा नफर्किएका र विद्युत् प्राधिकरणले बेवास्ता गरेकाले विद्युतीकरणमा ढिलाइ भएको स्थानीय धनबहादुर पुर्जाले गुनासो गरे ।

 

‘बिजुली बल्ने आशमा काँध खुइलिने गरी पोल ढुवानी गरेर गाडेको पनि सात महिना पुग्यो’, उनले भने, ‘घरमा वायरिङ गरे पनि मुख्य लाइन विस्तार नगर्दा बिजुली बाल्ने सपना अधुरो भयो ।’ मुदीका दुई सय ५५ र खाम्लाका ६५ घरमा गत वैशाखमै बिजुली बाल्ने लक्ष्य थियो । 

 

मच्छिमदेखि मुना हुँदै मुदी र खाम्लासम्म मुख्य तथा केही ठाउँमा शाखा लाइनको तार तान्ने काम बाँकी छ । मुख्य र शाखा पोल गाडिएको छ । सडक सुविधा नभएका कारण गाउँपालिकाले गत ५ चैतमा हेलिकप्टरबाट खाम्ला र मुदीमा विद्युत्  ट्रान्सफर्मर ढुवानी गरेको थियो । 


हालै मुदी सडक यातायातमा जोडिएको छ । मुदी र खाम्लाका बासिन्दा उज्यालोका लागि अहिले सोलार र टुकीबत्तीमा निर्भर छन् । विद्युत् प्राधिकरणमा पटक–पटक ध्यानाकर्षण र ताकेता गरे पनि बेवास्ता भएको  धवलागिरिका अध्यक्ष थमसरा पुनले बताइन् । 

 

‘ठेकेदारले प्राधिकरणलाई, प्राधिकरणले प्रदेश कार्यालयलाई दोष देखाउँछन्,’ उनले भनिन्, ‘छिट्टै बिजुली बलेर जनताले सुविधा पाउलान् भनेर हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गर्नुको उद्देश्य पूरा भएन ।’ मुदीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने गाउँपालिकाको तयारी छ । 

 

ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापाले विद्युत् प्राधिकरणले तार र पोलमा राख्ने सामग्री उपलब्ध नगराएकाले काम गर्न नसकिएको दाबी गरे । पोखरास्थित प्रदेश कार्यालयले तार उपलब्ध नगराएकाले विद्युतीकरणको काम प्रभावित भएको प्राधिकरण बेनी वितरण केन्द्र प्रमुख माधव महतले बताए । 

 

‘प्रदेश कार्यालयबाट तार आउनेबित्तिकै फिल्डमा पठाएर तान्न लगाउँछौं,’ उनले भने, ‘तिहारलगत्तै बिजुली बाल्ने लक्ष्यसहित पहल गरेका छौं ।’ धवलागिरिको वडा-७ मा पर्ने साविक ताकम गाविसका करिब आठ सय र वडा-६ मराङका डेढ सय घरमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

 

गत वर्ष वडा-२ लुलाङमा लघुजलविद्युत् र वडा-४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एउटाबाट विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना छ ।


लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने एक सय २० घरधुरीलाई प्रदेश सरकारमार्फत हालै ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो ।