close

धार्चेले गोरखा भूकम्पको स्तम्भमा नाम सच्याएपछि बारपाकले खोल्यो नाकाबन्दी

धार्चेले गोरखा भूकम्पको स्तम्भमा नाम सच्याएपछि बारपाकले खोल्यो नाकाबन्दी

Trulli
ADVERTISEMENT

कास्की - गोरखाको धार्चे गाउँपालिकाले गोरखा भूकम्पको इपिसेन्टर स्तम्भमा नाम सच्याउन तयार भएपछि दुई पालिकाबीचको विवाद किनारा लागेको छ  । जिल्ला समन्वय समितिको समन्वयमा दुई पक्षबीच बैठक बसेर विवाद समाधान गरिएको हो ।


धार्चेले वडा-४ चुङकङ डाँडामा इपिसेन्टर स्तम्भ बनाएपछि बारपाक सुलिकोट गाउँपालिकाले विरोध जनाएको थियो । दुवै पालिकाले इपिसेन्टर आफ्नो भएको दाबी गरेका थिए । पछि धार्चेले स्तम्भमा नाम सच्याउन सहमति जनाएको हो । बारपाकले पनि धार्चे छिर्ने नाका बन्द नगर्ने सहमति गरेको हो । 

 

‘धार्चे नाम सच्याउन तयार भयो’, अध्यक्ष सन्तोष गुरुङले भने, ‘बारपाकसँग पनि समन्वय गरेर आगामी काम अघि बढाउँछौं ।’ उनले भूकम्पको केन्द्रबिन्दुमा भने अहिले पनि विवाद रहेको बताए ।

 

‘केन्द्र अझै टुंगो छैन । यसबारे नापिएको पनि छैन’, उनले भने, ‘०७२ मा बारपाक केन्द्र भएको भरमा मात्रै अहिले समस्या आएको हो । क्षति बारपाकमा मात्रै नभएर धार्चेमा पनि उस्तै छ ।’


बारपाकका अध्यक्ष विष्णु भट्ट पनि समस्या सुल्झिएको बताउँछन् । ‘विवाद गर्नुपर्ने कुरै होइन । धार्चेका अध्यक्षले अलि कम तौलको काम गर्दा समस्या आएको हो’,  उनले भने, ‘सच्याउने कुरो भएको छ । नाका पनि पहिले नै खोलिएको छ ।’ धार्चेले सोही ठाउँबाट इपिसेन्टर एड्भेन्चर ट्रेल बनाएको छ ।

 

याे पनि पढ्नुहाेला : बारपाकले धार्चेलाई लगायो नाकाबन्दी