close

नाम्खा गाउँपालिका ३ दिनका लागि सिल

नाम्खा गाउँपालिका ३ दिनका लागि सिल

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र आजदेखि तीन दिनका लागि सिल गरिएको छ । नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध उच्चमाध्यमिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै आजदेखि यस क्षेत्रमा सिल गरिएको हो । 
    

पाँच जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा बिहीबार एक जनामा नेगेटिभ र अन्य चारै जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।  
   


पालिकाभित्रै समुदायस्तमा संक्रमण बढ्ने सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ३० कात्तिकसम्मका पालिका प्रवेशमा र आवतजावतमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।


सिल गरिएको स्थान र मितिभित्र आन्तरीक तथा बाह्य मानिसहरूले आवतजावत नगरिदिन आग्रह गर्दै नियमविपरीत गरेको पाइएमा पालिकाले कानुनबमोजिम कारवाही गर्ने अध्यक्ष लामाले जानकारी दिए ।
    

यस्तै, पालिका केन्द्र याल्वाङबाट हिल्सा हुँदै ताक्लाकोट जाने मुख्य बाटो पर्ने भएकाले अन्य छवटा पालिकाका नागरिकलाई समेत समस्या निम्तिने देखिएको छ । तीन दिनसम्म सिल हुँदा नाम्खा गाउँपालिकाका नागरिकलाई मात्र नभएर जिल्लाका अन्य गाउँपालिकाका नागरिकलाई पनि आवतजावत गर्दा बढी समस्या हुने भएको छ ।