close

गुर्जाका घरघरमा भेँडापालनले समृद्धि भित्र्याउँदै

गुर्जाका घरघरमा भेँडापालनले समृद्धि भित्र्याउँदै

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका-१  गुर्जाका बासिन्दाले भेँडापालनलाई आम्दानीको स्रोत बनाएका छन् । गुर्जाका केही युवाहरूले वैदेशिक रोजगारीको विकल्पमा गाउँमै भेँडापालन सुरु गरेका हुन् । 

 

उच्च पहाडी भूगोलमा अवस्थित गुर्जामा अनुकूल हावापानी र प्रशस्त चरन क्षेत्र भएकाले भेडापालनप्रति कृषकको आकर्षण बढेको हो । परम्परागत रुपमा गरिँदै आएको भेडापालनलाई कृषकहरूले पछिल्लो समय व्यावसायिक बनाउँदै लगेका छन् ।

 

घरखर्च चलाउन, छोराछोरी पढाउन र जीविकोपार्जनका लागि भेडापालनबाट सहयोग पुगेको गुर्जाका नरबहादुर छन्त्यालले बताए । ५० वटा भेँडा पालेका छन्त्यालले बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिएको बताए ।  

 

दुई सय ३० घरधुरीको बसोबास रहेको गुर्जामा हाल २० भन्दा बढीले व्यावसायिक रुपमा भेँडापालन गरेका छन् । एक जनाले ५० देखि दुई सय वटासम्म भेँडा पालेका छन् । धेरैजसोले घरमै तीन, चार वटाका दरले पनि भेँडा पालेका छन् । 


यहाँका भेँडा स्थानीय भ्याङलुङ र बरुवाल जातका हुन् । स्थानीयले भेँडासँगै खरी जातका बाख्रा पनि पालेका छन् । पाँच वर्ष मलेसियामा रोजगारी गरेर फर्किएपछि भेँडापालन गरेका स्थानीय रेशम छन्त्यालले एकै वर्षमा १५ लाख बराबरको एक सय वटा भेँडा बिक्री गरेको बताए । ‘विदेशमा अरुको अधीनमा रहेर काम गर्नुभन्दा आफ्नै गाउँमा भेँडा पालेर सन्तुष्ट भएको छु’, उनले भने,‘ भेडापालन गुर्जाबासीका लागि स्वरोजगारको आधार बनेको छ ।’ 


मासु र पूजाआजाका लागि भेँडा व्यापार हुने गरेको छ । शक्तिपीठहरूमा भेडाको साँढे बलि चढाउने चलन छ । हिमाली हावापानी र जडीबुटीयुक्त चरन क्षेत्रमा पालिएका भेँडाको मासु स्वादिलो र पोषिलो हुन्छ । एउटा भेडा साँढे उमेर र तौलअनुसार १५ देखि २५ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । भेँडाको ऊन काम्लो, हरदुब्लो बनाउन प्रयोग हुन्छ । तर, ऊनको व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।

 

बजार अभावमा कृषकले जंगलमै ऊन फाल्ने गरेका छन् । ऊन बेचेर आम्दानीको अवसरबाट वञ्चित भएका छन् । गुर्जाका साथै छिमेकी लुलाङ, मुना, ताकम, दरवाङ र बेनीसम्म गुर्जाका भेँडा बिक्री हुने गर्छ । टाढा भएकाले बजार र उचित मूल्य नपाउने समस्या रहेको कृषक थमबहादुर छन्त्यालले बताए । ‘हिउँदमा चरन अभाव, छमासे रोगको प्रकोप र यातायात असुविधा भेँडापालनमा मुख्य चुनौती छ’, छन्त्यालले भने ।

 

भेँडालाई जंगली जनावरको आक्रमणबाट बचाउन सबैजसो गोठमा कुकुर पालेका छन् । आयआर्जन र रोजगारी सिर्जनाको हिसाबले गुर्जामा भेँडापालनको सम्भावना देखिएपछि गाउँपालिकाले पनि सघाएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । 


गुर्जालाई जडीबुटी र भेँडापालनको हब बनाउने गाउँपालिकाले योजना बनाएको छ । यसैगरी गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोगमा संगम म्याग्दीमार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले स्थानीय हिमाली कृषि सहकारी संस्थामार्फत भेडापालक कृषकलाई अनुदान र घुम्ती कोष उपलब्ध गराएको सहकारी अध्यक्षसमेत रहेका छन्त्यालले बताए ।  


२७ जनालाई १२ लाख ८८ हजार एक सय ३४ रुपैयाँ घुम्ती कोषबाट ६ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराइएको छ । सहकारीले कृषकको भेँडा बजारीकरणमा समेत सघाएको छ । 


घुम्ती कोषको रकमले भेँडाको संख्या थप गरेको कृषक बताउँछन् । कृषकमा व्यावसायिक ज्ञान, सीप, पुँजी र प्रविधिमा पहुँच बढाई भेँडापालनलाई व्यावसायिक र व्यवस्थित गराउन पहल गरेको वडाध्यक्ष छन्त्याल सुनाउँछन् ।