close

गुल्मी दरवारको कृषि योजनाः बाँझो गाउँपालिकालाई, उत्पादन कृषकलाई

गुल्मी दरवारको कृषि योजनाः बाँझो गाउँपालिकालाई, उत्पादन कृषकलाई

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मी दरवार गाउँपालिकाले बाँझो जग्गाको उपयोग बढाउन सामुहिक खेती प्रोत्साहन अभियान संचालन गरेको छ ।


पछिल्लो समय गाउँबाट शहर बसाईसराइ गर्ने दर बढ्दै गएपछि गाउँका खेतबारी बाँझिदै गएका छन् । गुल्मी दरवार गाउँपालिका ६ कुमालटारीको मात्रै करिव दुई सय बढी रोपनी खेतीयोग्य जमिन २० बर्षदेखि बाँझो थियो ।


त्यो मध्येको एक सय रोपनी खेतमा अहिले धानखेती गरिएको छ । कुमालटारी खाद्यान्न तथा तरकारी कृषक समुह मार्फत स्थानीय ५० जना मिलेर सामुहिक धान खेती गरेका छन् ।

 

गाउँपालिकाले सामुहिक खेती प्रोत्साहन कार्यक्रम मार्फत बाँझो खेत खनजोत गरेर बिउबिजनसहित मल उपलब्ध गराएपछि कुमालटारी खाद्यान्न तथा तरकारी कृषक समुहले कुमालटारी फाँटमा धान, गहुँ, तरकारी र फलफुल खेती गर्ने अभियान संचालन गरेको समुहका अध्यक्ष जिवलाल पौडेलले जानकारी दिए ।


६० रोपनीमा १५ जना र बाँकी ४० रोपनीमा छुट्टाछुट्टै समूह बनाएर धान खेती गरिएको छ । दुवै ठाउँमा गरेर करिव दुई सय मुरी धान फल्ने अपेक्षा गरिएको स्थानीय बद्रीनाथ अर्यालले जानकारी दिए । गाउँपालिकाले एक्लै र समुहमा काम गर्ने दुवैको लागि जग्गा उपलब्ध र खनजोत तथा बिउबिजन बितरण गरेको अर्यालले बताए ।

 

गाउँपालिकाले बाँझो खेत जोतिदिएपछि अर्याल आफैले बाँझो भएको आफ्नै चार रोपनी खेतमा पनि धान रोपे । उनीसहित सोहि स्थानका कृष्ण ज्ञवालीको पनि ११ रोपनी खेत लामो समयदेखि बाँझै छ । तर, उनले सामुहिक रुपमा धान खेती गरिरहेका छन् ।


‘मैले सवैसँग मिलेर सामुहिक खेती गरे, काम गर्ने नभएपछि आफ्नो व्यक्तिगत जग्गा बाँझै राख्न बाध्य छु,’ उनले भने, ‘बाँझो जग्गाको लगत गाउँपालिकाको भूमि बैंकमा दर्ता गरेको छु ।’

 

गाउँपालिकाले बाँझो जमिन टयाक्टरले जोतेर दिएपछि गुल्मी दरवार गाउँपालिका ६ का मेघराज भुसालले ८ रोपनी बढी खेतमा धान रोपे । अहिले पानी परिरहेकाले सिंचाईको कुनै समस्या भएन ।

 

राम्रो धान उत्पादन भएकाले भुसालले भर्खरै २२ मुरी धान भित्राए । तीन बर्ष मलेसिया बसेर फर्किएका भुसालले आफ्नै बारीमा पनि व्यावसायीक तरकारी राम्रै गरेका छन् । जाँगर भए कुमालटारीमा जग्गाको कुनै समस्या छैन् ।


धान उत्पादनसँगै तरकारी राम्रै उत्पादन भएकाले खुसी छु,’ उनले भने, ‘गाउँपालिकाले युवाहरुलाई निरन्तर प्रोत्साहन गर्नुपर्छ ।’ उनले फुल, बन्दा गोपी र ब्रो काउली, सिमी, बोडी र गाजरको सामुहिक खेती गरिरहेका छन् ।

 

कुमालटारी खाद्यान्न तथा तरकारी कृषक समूहले धान काटेपछि गहुँ र आलु रोप्ने योजना बनाएका छन् । सामुहिक खेती गर्दा कृषक समुहको तर्फबाट सवैले बराबर श्रम गर्छन् । सामुहिक उपादन पनि सवैलाई बराबर बितरण गर्ने गरिएको छ । त्यस्तै गुल्मी दरवार गाउँपालिका ५ अम्मर अर्बाथोकमा पनि गाउँपालिकाले १५÷२० जनाको व्यक्तिगत जग्गा समेत खनजोत गरेर धान रोप्न प्रोत्साहन गरिएको छ ।

 

जिल्लाको गुल्मीदरवार गाउँपालिकाले बाँझो जग्गा राख्न नपाइने नीति बनाएर पालिका भित्रका बाँझो जग्गाहरुको एकिकृत तथ्यांक संकलन गर्ने, भुमि बैंकको व्यावस्था गरेर बाँझो जग्गालाई कृषि उत्पादनमा उपयोय गर्ने योजना गुबनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।


कार्यविधि जारी गरेर खेतीयोग्य र खेती गर्न नमिल्ने दुवै खाले जग्गाको भुमिबैंकमा लगत दर्ता गर्ने अभियान चलिरहेको छ । अहिले गुल्मी दरवार गाउँपालिका वडा नम्बर १ र २ बाहेक पाँच वडाको करिव ३ सय रोपनी बाँझो जग्गाको लगत संकलन भएको पाण्डेयले बताए ।


 
गाउँपालिकाका प्रमुख अशोक कुमार थापाले रोजगार गुमेर परदेशबाट फर्किएका र गाउँकै बेरोजगार युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गर्न आफुहरुले जमिन, बिउ, मल, सिंचाई, बजारीकरण र अनुदान गरेर सवैखाले व्यवस्था गरेको बताए ।


उनले अहिले केही युवा र समूहहरुलाई सामुहिक खेती कार्यक्रमको जोडिएकाले प्रगति र आकर्षणलाई हेरेर थप बिस्तार र सहयोगलाई बढाउने थापाले बताए । उनले गाउँपालिकाले एउटा गाउँ छनौट गरेर ‘एक घर एक करेसा बारी’ तथा एग्रो टुरिजमका विभिन्न योजना अगाडि बढाएको बताए ।