close

म्याग्दीका दुर्गम स्थानमा स्वास्थ्य सेवाकाे पहुँच बढ्दै 

म्याग्दीका दुर्गम स्थानमा स्वास्थ्य सेवाकाे पहुँच बढ्दै 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीका दुर्गम र विकट बस्तीमा स्थानीय तहहरूले सञ्चालन गरेका सामुदायिक स्वास्थ्य इकाइ प्रभावकारी देखिएका छन् । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा-सुविधा लिन नसकेका दुर्गमका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य इकाइ प्रभावकारी बनेका हुन् ।


पायक पर्ने ठाउँमा स्वास्थ्य इकाइ स्थापना भएपछि सामान्य बिरामी पर्दासमेत तीन-चार घन्टादेखि पूरै दिन हिँडेर स्वास्थ्य चौकीमा पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ ।  म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्य चौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुसी छन् ।

 

गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । ‘वडास्तरको स्वास्थ्य चौकी भएको मुदी पुग्न बगरबाट पूरै दिन भीर र जंगलको बाटो हिँड्नुपर्ने भएकाले रोग पालेरै बस्नु परेको थियो’, पुनले भने, ‘स्वास्थ्य इकाइ खुलेपछि समयमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छौं ।’


बगरलगायत गाउँमै नियमित स्वास्थ्य परीक्षण र औषधी पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरि-४ खिवाङकी चनमाया घर्तीले बताइन् । ७ वडा रहेको धवलागिरिले खिवाङ, आरबाङ र बगरमा तीन वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ । 

 

मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाडागाउँ, मंगलाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेका छन् । सिंगा, थाकनपोखरी र फुर्केसल्लामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा- ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ । 

 

रघुगंगाले ७ वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘बादुक, राममन्दिर, मौवाफाँट, दर्मिजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य इकाइ स्थापना भएको छ’, उनले भने, ‘सबै स्वास्थ्य इकाइ स्थापनाका लागि पाँच/पाँच लाखमा भवन बनाएका छौं ।’ औजार, उपकरण र औषधीका साथै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ ।

 

इकाइमा एक अहेब र एक कार्यालय सहयोगी खटाइएको छ । इकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, परामर्श, गर्भ परीक्षण, खोपलगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य इकाइका अहेब बिना पाइजाले बताइन् । ‘हामीले नसक्ने बिरामीलाई स्वास्थ्य चौकी र जिल्ला अस्पताल रिफर गर्छौं’, उनले भने, ‘आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ ।’