close

बेलकाका सबै वडामा बल्याे बिजुली

बेलकाका सबै वडामा बल्याे बिजुली

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको बेलका नगरपालिकाले सबैभन्दा विकट वडा- ७ को मैनामैनीमा विद्युत् सेवा विस्तार गरेको छ । मैनामैनीमा विद्युत् पुगेसँगै नगरपालिकाभित्रका ९ वटै वडा बिजुलीको पहुँचमा समेटिएका हुन् ।

 

वर्षाैंदेखि टुकी बाल्दै आएका मैनामैनीबासीको बाध्यता बिजुली  पुगेपछि अन्त्य भएको छ । बेलकाका सबै वडामा विद्युत सेवा विस्तार भएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तीन दशकअघि नै बिजुली बत्तीले झिलीमिली दूधकोसीपारि धनकुटाका गाउँबस्ती हेरेर टुकीको भरमा रहेका मैनामैनीबासी बिजुली उपभोग गर्न पाएपछि खुसी भएका छन् । 


‘कोसीपारिको धनकुटा राती झलमल्ल हुन्थ्यो ।  वारि हामी रातभर टुकी बालेर पढ्थ्यौं,’ बेलका नगरपालिका- ७ मैनामैनीका वडाध्यक्ष सुरेन्द्र राईले बाल्यकाल सम्झे, ‘त्यो देख्दा गाउँमा कहिल्यै बिजुली आउला भन्ने लाग्दैन थियो । तर, अहिले आयो । वडाबासी सबै खुसी छन् ।’

 

अरुण, तमोर र दूधकोसीले सीमा छुट्याएको मैनामैनीपारि धनकुटा र संखुवासभा तथा भोजपुरका केही क्षेत्र पर्छन् । धनकुटाका सबै गाउँका साथै भोजपुर र संखुवासभामा पनि केही वर्षअघि नै विद्युत् विस्तार भईसकेको छ । 


तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको जिल्ला धनकुटामा पञ्चायतको सुरुमै सडक, विद्युत् र खानेपानीजस्ता विकासका पूर्वाधार बनिसके पनि आफ्नाे गाउँमा ठूला नेता नहुँदा विकास पछि परेको ठान्ने गाउँबासी अहिले भने खुसी छन् । 

 

तत्कालीन मैनामैनी गाविस अध्यक्ष जयकृष्ण राई सदरमुकाम गाईघाटदेखि सबैभन्दा टाढा अनि दुर्गम भएकाले मैनामैनीबासीले सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्य समस्या भोग्दै आउनु परेको बताउँछन् । ‘ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको चामल सहयोगमा केही गोरेटा बाटालाई घोडेटोमा स्तरोन्नति गर्नुबाहेक कुनै काम गर्न हुन सकेको थिएन ।

 

मैनामैनीमा बिजुली बाल्ने कुरा कल्पनाभन्दा पनि बाहिरको थियो । स्थानीय तह पुनर्संरचनापछि मैनामैनीलाई समेटेर बेलका नगरपालिका बनेसँगै विकासले गति लिन थालेको हो’, राई भन्छन् ।  

 

०७४ को चुनावपछि भने मैनामैनीसम्मै पुग्ने कच्ची सडक गाउँगाउँमा निर्माण भइसकेका छन् । वडाको केन्द्र मूलगाउँमा नगरप्रमुख दुर्गाकुमार थापा, उपप्रमुख राजकुमारी चौधरी, ठोक्सिला ग्रामीण ऊर्जा केन्द्रका अध्यक्ष धनपति आचार्यलगायतले संयुक्त रुपमा विद्युतीकरण  सेवाको उद्घाटन गरे । ट्रान्सफर्मरमा जडित स्विच थिचेर विद्युत् उद्घाटन गर्दा बत्तीले भन्दा बढी खुसीले गाउँलेको मुहार उज्यालो भएको महसुस गरेको वडाध्यक्ष राई सुनाउँछन् ।

 

ऊर्जा केन्द्रका सचिव रमण भट्टराईका अनुसार मैनामैनीलगायत बेलकाका विभिन्न वडामा विद्युत् विस्तार गर्न नेपाल सरकारको ९० प्रतिशत र नगरपालिकाको १० प्रतिशत लगानी लागेको छ । सरकारले १२ करोड ६० लाख र नगरपालिकाले १ करोड ४० लाख गरी जम्मा १४ करोड रुपैयाँमा नगरपालिकाका सबै वडामा विद्युत् विस्तार गरिएको विद्युतीकरण कस्मिक ई्न्जिनियरिङ प्रालिले ठेक्कामार्फत सम्पन्न भएको भट्टराईले बताए । 

 

‘गत आर्थिक वर्षको जेठदेखि नगरका सबै वडामा विद्युत् विस्तार कार्यक्रम अगाडि बढाएसँगै मैनामैनीमा बत्ती बलेपछि ९ वटै वडामा विद्युत् पुगेको छ’, भट्टराईले भने । नगरप्रमुख थापाले मैनामैनीबासीलाई विद्युत्सँगै एउटा एम्बुलेन्स पनि प्रदान गरेका छन् ।

 

‘मैनामैनीबासीलाई अँध्यारोमुक्त बनाउन विद्युत् र बिरामी पर्दा उपचारमा सहयोग गर्न एम्बुलेन्स प्रदान गरेका हौं । गाउँलेलाई कोसेलीस्वरुप स्थानीय सरकारको तर्फबाट विद्युत् र एम्बुलेन्स उपहार दिएका हौं’, नगरप्रमुख थापाले भने ।गरिब, विपन्न, असहायका लागि वडा कार्यालयको सिफारिसमा निःशुल्क सेवा दिन उनले आग्रह गरे ।