close

प्रचार अभावले ओझेलमा पर्दै गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल 

प्रचार अभावले ओझेलमा पर्दै गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल 

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिकाको चोयघा छत्रकोट मन्दिर सदरमुकाम तम्घासबाट पूर्वका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलमध्येको महत्त्वपूर्ण मानिन्छ । धार्मिक दृष्टिकोणले दशैँ पूर्णिमामा यहाँ ठूलो सरायँ मेला लाग्छ । चोयगा छत्रकोट मन्दिरमा एकादशी, औँसी र साउनमा बाहेक सधैँभरि पूजा हुने गरेको छ । 


भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासमा स्थानीयको मन्दिरप्रति धार्मिक आस्था बढ्दै गएको छ । नेपाल तथा भारतीय सेनामा भर्ती हुनेहरूले छत्रकोट मन्दिरमा भाकल गर्ने गरेको पुजारी शिवलाल पन्थले जानकारी दिए ।

 

चोयगा क्षेत्र धार्मिकसँगै प्राकृतिक रूपमा पनि सुन्दर र रमणीय भएकाले पर्यटकीय सम्भावना पनि उत्तिकै छ । त्यसैले विभिन्न क्लब, संघसंस्था र विद्यालयबाट पिकनिक जानेहरूको संख्या बढ्दै गएको छ । ठूलो सल्लाघारी, ठूलो चौर, आकर्षक मन्दिर र पिकनिक स्पटका कारण यस क्षेत्रको भविष्य राम्रो छ । तर, स्थानीय तहले घेराबारा, खानेपानी र थप संरचनासहितको व्यवस्थापन गर्न आवश्यक छ । 

 

छत्रकोट गाउँपालिका उपप्रमुख नर्मदा भण्डारीले पालिकाभरका पर्यटकीय स्थलहरूको प्याकेजमै विकास गर्दै लैजाने योजना रहेको सुनाइन् । उनले भनिन्, ‘पालिकाको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र चोयगा भए पनि सँगै दौघा, पल्लीकोटलगायत स्थानका धार्मिक तथा पर्यटकीय स्थलमा आवश्यक भौतिक संरचना निर्माण र प्रचार गरिरहेका छौँ ।’ 

 

स्थानीय तहसँग सीमित आर्थिक स्रोत हुने भएकाले साना योजना निर्माणले प्राथमिकता पाउन नसकेको उनको भनाइ छ । चोयगासँगैको अर्को धार्मिक तथा पर्यटकीय स्थल रुरुक्षेत्र गाउँपालिका- ४ शृंगाको शृंगेश्वर तपोभूमि हो । दुवै क्षेत्र पक्की सडक नजिक पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका राम्रो गन्तव्य बन्न सक्छन् । 

 

यो तपोभूमिसँग करिब पाँच हजार वर्ष पुरानो इतिहास जोडिएको छ, जहाँ शृंगे ऋषिले तपस्या गरेका थिए । शृंगेश्वर क्षेत्रमा शिवालय मन्दिर, सिद्ध पोखरी, अखण्ड यज्ञशाला, विष्णुगादी, शृंगे ऋषिको तप स्थल, गुफा, आकर्षक शिलालेख र करिब ३०० जना अटाउने हल, पिकनिकका लागि आवश्यक संरचना निर्माण गरिएको छ । 


गुल्मीका महत्त्वपूर्ण तीर्थ रेसुंगा हुँदै शृंगेश्वर र रिडीको ऋषिकेश मन्दिरसँग त्रिपक्षीय सम्बन्ध छ । तर, तीनवटै क्षेत्रलाई एउटै सर्किटमा राखेर पर्यटकीय विकासमा तीनै तहका सरकार चुकेका छन् । जीर्णावस्थामा रहेका महत्त्वपूर्ण स्थलको पछिल्लो समय केही संरचनागत विकास भए पनि प्रचारप्रसार नभएको रुरुक्षेत्र गाउँपालिका वडा- ४ का वडा अध्यक्ष पर्शुराम ज्ञवालीले बताए । 


उनले भने, ‘गुरुयोजनामार्फत रुरुक्षेत्र, शृंगेश्वर तपोभूमि हुँदै रेसुंगा क्षेत्रको समग्र विकास र प्रचारप्रसार आवश्यक छ । धार्मिक तथा पर्यटकीय स्थलको थप विकास र प्रचारमा स्थानीय तहको बजेटले मात्र पुग्दैन, तीनै तहको ध्यान पुग्नुपर्छ ।’


राज्यले चासो नदिएकै कारण हजारौँ वर्ष पुरानो इतिहास बोकेका धार्मिक तथा पर्यटकीय स्थल ओझेल परेको उनले दाबी गरे । शृंगेश्वर तपोभूमिमा साउने औँसी, कृष्णजन्माष्टमी, बालाचतुर्दशी, ठूलो एकादशी, जनैपूर्णिमा र शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ ।

 

पहाडी जिल्लाहरूको आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । तर, पर्यटकीय विकासमा स्थानीय तहहरूका खासै योजना छैनन् । जिल्लाका सबै स्थानीय तहको नीति कार्यक्रम र बजेट हेर्दा धार्मिक तथा पर्यटकीय स्थलको विकास कम प्राथमिकतामा परेका छन् । 


प्रत्येक वर्ष वा निर्माण, घेराबार निर्माण, सिँढी निर्माणलगायतका काम मात्र स्थानीय तहका बजेटमा परेका छन् । ठूला भौतिक पूर्वाधार निर्माण गर्न स्थानीय तहले प्रदेश र केन्द्रको मुख ताक्नुपर्ने अवस्था भएकाले पनि समन्वय अभाव छ ।