close

रेसुंगा नगरपालिकामा लकडाउन

रेसुंगा नगरपालिकामा लकडाउन

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीको रेसुंगा नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि १० दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । सदरमुकाम तम्घास बजारमै दैनिक कोरोना संक्रमण बढिरहेको छ ।

 

नगरपालिकाले नागरिक र सरोकारवालाको आग्रहअनुसार ४ मंसिर राती १२ देखि १३ मंसिर राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । 


लकडाउन अवधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, इन्धन, सरसफाइ, स्वास्थ्य सेवा तथा औषधी पसल पूर्ववत् रुपमा सञ्चालन हुनेछन् ।


‘नगरपालिका कार्यालय र वडा कार्यालयमा अत्यावश्यकबाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेछन् । सम्पूर्ण शैक्षिक संस्था बन्द गरेर रेडियो टेलिभिजनबाट प्रसारण हुने श्रव्यदृश्य सिकाइमा जोड दिने निर्णय भएको छ’, नगरप्रमुख भुसालले भने ।

 

कक्षा १२ को वार्षिक परीक्षा भने ९ मंसिरबाटै निर्देशित कार्यविधि, मापदण्ड पूरा गरी सुचारु हुनेछन् । तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण बिहान ९ बजेसम्म र साँझ ६ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन गर्ने र अन्य पसल स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बिहान ७ बजेदखि दुई घन्टा मात्र सञ्चालन गर्न पाइने नगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 


लकडाउनको उल्लंघन गर्ने र अनावश्यक घर बाहिर निस्किए रोग निवारण ऐन, २०२० अनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।