close

बोइलर र लोकल कुखुराका बच्चा माउ बने, बजार नपाउँदा खोरमै मरे

बिक्री नभएपछि करोडौं लगानी स्वाहा

बोइलर र लोकल कुखुराका बच्चा माउ बने, बजार नपाउँदा खोरमै मरे

बिक्री नभएपछि करोडौं लगानी स्वाहा

Trulli
ADVERTISEMENT

महोत्तरी-  महोत्तरीका कुखुरापालक किसान बजार नपाएपछि चिन्तित बनेका छन् । पाँच महिना बितिसक्दा पनि कुखुरा बिक्री नहुँदा उनीहरूको लगानी डुब्ने अवस्थामा पुगेको हो ।


चार महिनाभित्र लोकल कुखुरा र ४५ दिनभित्र बोइलर कुखुरा बेचिसक्नुपर्ने भए पनि पाँच महिनासम्म बिक्री नहुँदा लाखौं रुपैयाँ नोक्सानी भएको उनीहरूको गुनासो छ । बोइलर र लोकल कुखुराका बच्चा माउ बनिसक्दा पनि बिक्री नभएपछि दानामै लाखांै रुपैयाँ नोक्सानी भएको किसानको गुनासो छ ।


कुखुरापालनबाट आम्दानी लिने योजना बनाएकाहरू बिक्री नै नभएपछि निराश छन् । ‘कोरोनाका कारण रोजगारी गुमाएपछि घर फर्किएर लोकल कुखुरापालन सुरु गरेको हुँ । तर, कुखुराका बच्चा माउ बनिसके । बजारमा बिक्री नै हुँदैन । लगानीको पिरलोले सताइरहेको छ,’ बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ईश्वर बस्नेत भन्छन् । कुखुरा बिक्री नभएपछि पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको उनको गुनासो छ ।


‘दुई लाख लगानी गरेर कुखुरापालन गरियो । बजार अभावका कारण अहिले पाँच सय कुखुरा खोरमै थुन्नु परेको छ । कहिले बिक्री होला भनेर दिन कुर्नुपर्नेबाहेक अरु विकल्प रहेन’, बस्नेतले भने ।

 

बस्नेतजस्तै धेरै किसानहरूको कुखुरापालनबाट आम्दानी लिने लक्ष्य भए पनि बजार नपाउँदा सबै गुमेको बताउँछन् । कुखुरापालनका बेला बजार व्यवस्थापनमा ध्यान नपुग्दा नोक्सानी बेहोर्नु परेको उनीहरूको बुझाइ छ ।


‘बजार पाइहाले पनि कम मूल्यमा बेच्नुपर्ने बाध्यतामा छौं’, बर्दिबासका अर्का   किसान लक्ष्मण बस्नेत सुनाउँछन् ।

 

बजारमा कुन जातका कुखुराको माग बढी छ भन्ने नबुझेरै देखासिकीमा व्यवसाय अगाडि बढाउने किसानका कारण पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको पुराना व्यवसायी बताउँछन् ।


६ वर्षदेखि कुखुरापालन गर्दै आएका बर्दिवासका राजन न्यौपाने गत दुई वर्षदेखि कुखुराबाट नोक्सानी भएकाले अब व्यवसाय नै परिवर्तन गर्ने सोच बनाएको बताउँछन् ।


‘देखासिकीमा हाम फालेका व्यवसायीका कारण स्थानीय बजार साँघुरिएको र बाह्य बजारबारे अनभिज्ञ हुँदा कुखुरापालन व्यवसाय धराशयी बनेको हो’, उनले भने ।


कुखुरापालक किसान उत्पादन नबिकेर थला परिरहेका बेला मासु व्यवसायीलाई भने राहत मिलेको छ । कुखुरा पाल्नेहरू बढेकाले प्रतिस्पर्धा हुँदा राहत भएको उनीहरूको तर्क छ ।


‘दुई वर्ष पहिला लोकल कुखुरा प्रतिकेजी आठ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, अहिले पाँच सय प्रतिकेजीमा व्यवसायीहरू फ्रेस हाउसमै पु¥याउन आउँछन्’, भण्डारी फ्रेस हाउस बर्दिवासका सन्तोष भण्डारीले भने ।


बर्दिवास नगरभित्रका धेरै कुखुरापालक व्यवसायीहरू स्थानीय बजारमै आश्रित छन् । होटल, रेस्टुराँ तथा फ्रेस हाउसहरूले लिने भए पनि संख्यात्मक रुपमा बढिरहेका कुखुरापालकका कारण माग धान्न सक्ने अवस्था छैन ।


कोरोना महामारीले होटल तथा रेस्टुराँ व्यवसायीहरू मारमा परेका छन् । पहिलेको तुलनामा मासु कम खपत हुने गरेको  उनीहरू बताउँछन् ।