close

युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना अलपत्र

युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना अलपत्र

Trulli
ADVERTISEMENT

म्याग्दी– १४ वर्षअघि भएको बिस्तृत शान्ति सम्झौता भएर रोकिएको तत्काली नेकपा माओवादीको शसस्त्र बिद्रोहको स्मरणमा युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना अलपत्र परेको छ ।

 

७ चैत, २०६० मा बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकार पक्षबीच दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको खम्बा लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने नगरको योजना दुई वर्षसम्म घोषणामै सिमित छ ।

 

२०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले बेनी नगरपालिका–२ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो । नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को नीति तथा कार्यक्रममा युद्ध संग्रहालय बनाउने योजना समावेश छ । तर बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी–२ का वडा अध्यक्ष हिराबहादुर थापाले बताए ।

 

‘पिपलडाडा सामुदायिक वनको छेउमा ५ रोपनी जग्गा ब्यवस्थापन गर्ने समुदायसँग सहमति पनि भएको हो,’ उनले भने, ‘बजेटनै नभएपछि कार्यान्वयन हुन सकेन ।’ लभ्लीहिलको नामले चिनिएको खबरास्थित मायालुडाँडा र बेनी बजारको पर्यटन बिकाससँगै बेनी आक्रमणका साक्षी बनेका सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले सग्रहालय बनाउने योजना अघि सारिएको थियो ।   

 

बेनी आक्रमणमा परेर छिया–छिया भएको पोल, बंकर लगायतका क्षतिग्रस्त सामग्रीहरु संग्रहालयमा संकलन र संरक्षण गर्ने योजना भएपनि कार्यान्वयनमा चासो देखाएका छैनन् । बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइली भने वनले जग्गा उपलब्ध गराउन अवरोध गरेकाले ठाउँ नपाएर संग्रहालय बनाउन नसकिएको बताउँछन् ।

 

बेनीको मंगलाघाटस्थित कर्मचारी आवास क्षेत्रमा रहेको बिजुलीको खम्बा २०६७ सम्म त्यही थियो ।  प्वाइन्ट् टू–टू, एसएलआर, एसएमजी, एम–१६, थ्रीनटथ्रीलगायतका हतियारको सँयौ गोली लागेर प्वालै प्वाल भएको यो खम्बा हाल काठमाडौं स्थित मदन पुरस्कार पुस्तकालय परिसरमा राखिएको छ ।

 

संस्थाका अध्यक्ष कनकमणि दिक्षितले विद्युत् प्राधिकरणसित लेखापढी गरी शोधभर्ना खम्बा उपलब्ध गराएर ललितपुरको पाटनढोकामा लगेको बताएका छन् । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पोल, बंकर लगायत क्षतिग्रस्त सम्पत्तिलाई संरक्षण गर्न संग्रहालय बनाउने योजना बनाइएको बताए ।

 

‘पोल र बेनी आक्रमणका साक्षी बनेका अन्य सामग्री संकलन र संरक्षण गर्न संग्रहालय बनाउन लभ्लिहिल परिसरमा जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ,’ नगरप्रमुख श्रेष्ठले भने ‘कोरोनाले ओझेलमा पारेको यो योजना कार्यान्वयन गर्न पहल गर्छाै ।’


 
संग्रहालय विद्यार्थी, पूर्वलडाकू–सिपाही, उनका परिवारजन, आम नागरिक, पर्यटकसहित नेपालले बिताएको एक दशकको द्वन्द्वकालको स्मरण गर्ने ठाउँ बन्ने उनको भनाइ छ । बेनीको यस खम्बाबाहेक देशभरबाटै द्वन्द्वकालका सामग्री संकलन गरेर आकर्षक र शिक्षाप्रद हिसाबले प्रदर्शन गर्नुपर्ने धौलागिरी पर्यटन परिषद्का सचिव घनश्याम खड्काले बताए ।

 

म्याग्दीस्थित जेसीज, लायन्स क्लव, राजनीतिक दल र विभिन्न संघ संस्थाले काठमाडौंमा लगिएको पोल फिर्ता ल्याउन दवाव दिदै आएका छन् । दश वर्षसम्म चलेको जनयुद्धमा म्याग्दीका करिब एक सय जनाले ज्यान गुमाएका थिए भने अर्बाैको भौतिक संरचनाको क्षति भएको थियो ।

तस्वीर सौजन्यः ठाकुरप्रसाद आचार्य