close

कमलामाई नगरपालिकाको युवालक्षित व्यावसायिक ऋण

कमलामाई नगरपालिकाको युवालक्षित व्यावसायिक ऋण

Trulli
ADVERTISEMENT

कमलामाई नगरपालिकाका युवाहरूले सरल व्याजदरमा ऋण पाउने भएका छन् । नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएपछि युवाहरूले सस्तो ब्याजमा व्यावसायिक ऋण पाउनेछन् ।


कमलामाईका नगरप्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सम्झौतापछि नगरपालिकामा बस्ने युवाहरूले व्यवसाय गर्न ५ लाखदेखि ५ करोडसम्म ऋण उपलब्ध गराइने नगरप्रमुख खत्रीले बताए ।


उनका अनुसार नगरपालिकाले महिलाका लागि १ दशमलव ८५ प्रतिशत र पुरुषका लागि २ दशमलव ८५ प्रतिशतमा ऋण उपलब्ध गराउनेछ ।


नगरप्रमुख खत्रीले भने, ‘विदेशबाट फर्किएका युवा, स्वदेशमै बसेर केही गर्न चाहने युवा तथा नगरपालिकाले उचित ठहर गरेका युवालाई सस्तो ब्याजमा ऋण दिइने छ । त्यसका लागि युवाहरूको तालिम, अनुभव र योजना अध्ययन गरिनेछ ।’


नगरपालिकाका १४ वटै वडामा युवाहरूसँग आवेदन मागिने र संकलित मागलाई नगरपालिकाको मूल्यांकनपछि ऋण उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने खत्रीले जानकारी दिए । उक्त मूल्यांकनका आधारमा  नगरपालिकाले सिफारिस गरेका युवालाई बैंकले ऋण दिने नगरप्रमुख खत्रीले बताए ।


यसबाट नगरका कुनै पनि युवाले आर्थिक अभावमा व्यवसाय गर्नबाट वञ्चित हुनु नपर्ने र उनीहरू लाई व्यवसायमा आकर्षित गर्न सकिने उनको धारणा छ ।