close

पोखरा महानगरले तोक्यो जेठोबूढो धानको मूल्य

पोखरा महानगरले तोक्यो जेठोबूढो धानको मूल्य

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरले पहिलो पटक जेठोबूढो धानको मूल्य तोकिदिएको छ । हालसम्म किसानले आफ्नै मूल्यमा बेच्दै आएका जेठोबूढोको न्यूनतम मूल्य महानगरले पहिलो पटक तोकिदिएको हो । प्रतिक्विन्टल नौ हजार मूल्य तोकिएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । 

 

उनका अनुसार प्रतिकिलो धानको मूल्य ९० रुपैयाँ तोकिएको छ । पोखरेली जेठोबुढो पोखराको पुरानो ब्रान्ड हो । तर हालसम्म यसलाई सरकारी संरक्षण र प्रवद्र्धन हुन सकेको थिएन । ‘किसानले आफूखुसी बेच्थे । आफैंले उत्पादन गरेको धानको मूल्य उनीहरूलाई थाहा थिएन’, कडरियाले भने, ‘महानगरले न्यूनतम मूल्य तोकेपछि सजिलो भएको छ ।’

 

खासगरी विदेश बस्ने नेपालीहरूमा यसको माग बढी छ । जेठोबूढो धानको माग बढेको र खेती प्रणाली व्यवस्थित नभएपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाएको हो । ‘जेठोबूढोको बजार राम्रो छ तर, उत्पादन घट्दै गएको छ’,  उनले भने, ‘अब उत्पादन बढाएर यहाँ आएका पाहुनालाई कोसेलीको रुपमा जेठोबूढो पठाउन सके पोखराको कृषि क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा पुग्छ ।’ 

 

माग बढेपछि जेठोबूढोको मौलिकपन हराएको छ । रासायनिक मल प्रयोग, मिसावट र सुधारिएका जातमा जोड दिएका कारण पुरानो स्वाद खुम्चिँदै गएको छ । 

 

हाल पोखराको ११ हजार दुई सय हेक्टरमा धान खेती हुने गरेको तथ्यांक छ । त्यसको ४५ प्रतिशत भूमिमा जेठोबुढोको खेती गर्छन्, किसानले । जेठोबूढो धानको उत्पादन लागत निकै महँगो पर्छ । अन्य धानभन्दा यो आधा कम फल्छ । एक बाली उत्पादन हुन कम्तीमा ६ महिना लाग्छ ।

 

जग्गा मूल्य अकासिएका कारण किसानलाई खेती गर्न झनै समस्या थपिएको छ । किसानको उत्पादन लागत हेरेरै बजार मूल्य कायम गरिएको महानगरले जनाएको छ ।

 

प्राविधिकका अनुसार जेठोबूढो फलाउन प्रतिरोपनी १२ देखि १६ हजारसम्म लागत लाग्छ । एक मुरी उत्पादन गर्दा तीन हजार ६ सय लाग्ने अनुमान छ भने त्यसको बजार मूल्य महानगरले चार हजार पाँच सय तोकेको छ । ‘२० प्रतिशत मुनाफा, १० प्रतिशत लगानीको ब्याज र १० प्रतिशत ढुवानी खर्च गरी यो रकम कायम भएको हो’, कडरियाले भने ।

 

६ सयदेखि नौ सय मिटर उचाइमा यसको खेती बढी फस्टाउँछ । यो वर्ष पोखरा र आसपासमा १३ हजार चार सय टन जेठोबूढो धान उत्पादन हुने अनुमान छ । महानगरले जेठोबूढोको महत्व बुझेरै धान उत्पादनका आधारमा किसानलाई अघिल्लो वर्ष ६ लाख सहयोग गरेको थियो । 


गुणस्तरीय बिउ पनि नियमित वितरण गर्दै आएको छ । यो सिजनमा मात्रै आठ हजार किलो धानकोबिउ वितरण गरिएको नगरप्रमुख मानबहादुर जिसीले जानकारी दिए । 

 

ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा जेठोबूढो पु¥याइने दाबी उनले गरे । ‘जेठोबूढोको नाम नसुन्ने अब कमै होलान् । धेरैले यसको स्वाद चाखिसकेका छन् । एकपल्ट यसको भात खाने सधैं पल्किन्छ’,  उनी भन्छन्, ‘राम्रोसँग पोका पारेर विदेश पठाउन सके हाम्रो धानको मूल्य बढ्छ । किसान धनी हुन्छन् ।’

 

यो वर्ष जेठोबूढो बेच्न महानगरले यहीँका सहकारीहरूसँग समन्वय गरेको छ । सहकारीले किसानसँग खरिद गरेर उपभोक्तालाई बेच्नेछन् । जेठोबूढोसहित रैथाने जातको संरक्षणका लागि लेखनाथमा जैविक सूचना केन्द्र नै स्थापना गरिएको छ । यहाँ धान खरिद बिक्री र संरक्षणका काम भइरहेका छन् । 

 

रैथाने जेठोबूढोको उत्पादन कम हुने र रोगकिराले सताउने भएपछि लिबर्डले सुधारिएको जेठोबूढोको बिउ किसानलाई बाँडेको छ । चार वर्षअघि खुलेको यो केन्द्रमा हालसम्म ५० हजारभन्दा बढीले जेठोबूढोको अवलोकन गरिसकेका छन् । तीमध्ये १३ हजार विदेशी छन् ।

 

कास्कीको पामे, लेखनाथ, कसेरी, ठूलाखेतलगायत ठाउँमा महानगरसहित विभिन्न संघ-संस्थाको सहयोगमा यो धानको प्रवद्र्धन गरिएको छ । धेरै विदेशीले जेठोबूढो धानको बिउ लैजान खोज्छन् तर केन्द्रले हालसम्म कसैलाई दिएको छैन । यद्यपि विश्वका कुनै पनि ठाउँबाट रैथाने बालीको बिउ ओसारपसार गर्न मिल्दैन ।

 

सूचना केन्द्रले ६३ प्रजातिका रैथाने धानको संरक्षणमा काम गरिरहेको छ । तीमध्ये पाँच वटा धानको प्रजाति भर्खरै सूचीकृत गरेर प्रवद्र्धन थालिएको छ । जेठोबूढोको पनि तीन वटा जात प्रचलनमा रहेको सूचना केन्द्रकी सदस्य प्रतीक्षा थापाले जानकारी दिइन् ।