close

गाउँपालिका केन्द्र सरेपछि पार्टी नै छाडे कार्यकर्ताले

गाउँपालिका केन्द्र सरेपछि पार्टी नै छाडे कार्यकर्ताले

Trulli
ADVERTISEMENT

बैतडी – बैतडीमा नेपाली कांग्रेसका १६१ जना कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । सामूहिक राजीनामा दिनेहरूमा सुर्नया गाउँपालिका वडा नं.– ५ का सभापति जयबहादुर चन्द, सचिव देवबहादुर महरालगायत सोही वडाका क्रियाशील तथा साधारण सदस्य छन् ।
    

सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा असन्तुष्ट रहेर सामूहिक राजीनामा दिएको नेपाली कांग्रेस सुर्नया गाउँपालिका वडा नं.– ५ का सचिव देवबहादुर महराले जानकारी दिए । कांग्रेसका जिल्ला सचिवसमेत रहेका सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले स्थानीय नागरिकको चाहनाविपरीत केन्द्र सारेको भन्दै आफूहरूले पार्टी परित्याग गरेको उनले बताए ।
    

गाउँपालिकाले केही दिन अगाडि मात्र गाउँपालिकाको केन्द्र रहेको ठाउँ वडा नं.– ५ को कठ्यागौडबाट सारेर सोही वडाको पविताबाट सेवा दिन सुरु गरेको छ ।


यसअघि गाउँपालिकाले केन्द्र सार्न लागेको भन्दै गत २८ असोजमा गाउँपालिका अध्यक्षमाथि ढुुंगामुढासमेत भएको थियो । ढंगामुुढाले गाउँपालिका अध्यक्ष विष्टसहित १३ जना घाइते भएका थिए । गाउँपालिकाको केन्द्र पविता सार्न नहुने भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा छ ।
   

मुद्दाको फैसला नहुँदासम्म केन्द्र पुरानै ठाउँ कठ्यागौडमा रहनुपर्ने र स्थायी रूपमा समेत कठ्यागौडमै केन्द्र तोकिनुपर्ने संघर्षरत पक्षको माग छ । तर, गाउँपालिकाले गत २०७६ पुसमै पालिकाको केन्द्र पवितामा राख्ने निर्णय गरिसकेको छ ।