close

कास्कीका विद्यालयः कतै अनलाइन, कतै टोलमै पढाइ

कास्कीका विद्यालयः कतै अनलाइन, कतै टोलमै पढाइ

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले आउँदो पुसदेखि वार्षिक परीक्षा सुरु गर्ने भएको छ । गाउँपालिकाका कुनै पनि विद्यालयमा कोरोनापछि पढाइ भएको छैन ।


तिहार सकिएपछि स्थानीय तहले नै निर्णय गरेर विद्यालय पढाइ थालेका छन् । गाउँपालिकाले प्रधानाध्यापकहरूसँग पटक–पटक बैठक बसेर विद्यालय खोल्ने तयारी थाल्न सुझाएको छ ।


गाउँपालिका अध्यक्ष युवराज कुवँरका अनुसार १ देखि ८ कक्षासम्म १० बजेबाट २ बजेसम्म पढाइ हुनेछ भने त्योभन्दा माथि जोरबिजोर गरेर पढाउने तयारी छ ।


‘पढाइ १० देखि २ बजेसम्म नै हुन्छ तर रोलक्रमअनुसार जोर गते जोर नम्बर हुनेहरू पढ्छन् र बिजोर नम्बर भएकाले बिजोर गते पढ्छन्’, उनले भने, ‘कम विद्यार्थी भएका स्कुलमा भने नियमित पढाइ हुन्छ ।’


यस्तो नियमले विद्यार्थीले खाजा खाने समय भने पाउने छैनन् । कक्षामा पसेपछि सीधै छुट्टी हुन्छ । गाउँपालिकामा रहेका ५२ मध्ये १४ वटा माध्यमिक विद्यालय छन् ।


‘पढाइ अहिले पनि भइरहेको छ । व्यवस्थापन समिति अध्यक्ष, विद्यार्थी, अभिभावक र शिक्षक मिलेर आवश्यक्ताका आधारमा निर्णय गरेर पढाउने सहमति भएको छ’, कुवँर भन्छन्, ‘स्थानीयको निर्णयले स्कुल खुल्छ । गाउँपालिकाले हस्तक्षेप गर्दैन ।’

 

रुपा गाउँपालिकाका विद्यालयहरूले पहिलो आन्तरिक परीक्षा लिइसकेका छन् । दसैंअघि नै परीक्षा लिएर अहिले नियमित पढाइ भइरहेको छ । धेरै विद्यालयमा अनलाइन कक्षा चलाइएको छ भने दुर्गम ठाउँमा कक्षा फड्केर पढ्ने व्यवस्था मिलाइएको छ ।


‘एक दिन बिजोर कक्षालाई बोलाएर पढाउन भनेका छौं । अर्को दिन जोर कक्षाको पढाइ हुन्छ’, गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘यो प्रणाली बढी प्रभावकारी भयो । यो वर्ष यसैगरी पढाउँछौं ।’ उनका अनुसार अन्तिम परीक्षा भने माघमा लिने तयारी छ ।


‘सामान्य समय चार वटा परीक्षा हुन्थ्यो । अहिले तीन वटा लिने भनेका छौं’, उनले भने, ‘पूर्णांक एक सय नै हुन्छ । सबै विषयको परीक्षा लिन्छौं ।’ स्कुल जाने विद्यार्थी र शिक्षकलाई गाउँपालिकाले प्रतिव्यक्ति २ वटा मास्क र एउटा साबुन दिएको छ । यहाँ १० मावि र २२ वटा आधारभूत विद्यालय गरी ३२ स्कुल सञ्चालनमा छन् ।


माछापुच्छ«े गाउँपालिकामा धेरै विद्यार्थी भएका विद्यालयले टोलटोलमै पढाउन थालेका छन् । कम विद्यार्थी भएका ठाउँमा सामान्य अवस्थामै पढाइ भएको छ भने धेरै विद्यार्थी भएकामा कसैले टोलमा पढाउँछन्, कसैले सिफ्ट छुट्याएर ।


‘१ देखि ५ सम्मका विद्यार्थी निकै कम छन् । ६ कोठा भएको ठाउँमा कुनै समस्या छैन,’ गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले भनिन्, ‘अहिले सबै विद्यालयमा पढाइ भएको छ । त्यस्तो जटिल समस्या छैन ।’


गाउँपालिकाले साउनमै ९० दिनको लकडाउन होमवर्क डायरी बनाएर पढाउन थालेको हो । ‘प्रत्येक विद्यालयलाई सेतोपाटी र मार्कर दिएका छौं । कतिले टोलटोलमा पायक पर्ने ठाउँ खोजेर पढाएका पनि छन्’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारीले भने, ‘धेरै विद्यार्थी हुँदा तीन सिफ्ट पढाउँछौं ।’


माछापुच्छ«े मावि, गौरीशंकर मनिलाल र पृथ्वीनारायण माविले टोलमै पढाएका छन् । उनका अनुसार ६ देखि १० बजे, १० देखि १ बजे र १ देखि ४ बजेसम्म सिफ्ट छुट्याइएको छ । ४३ सामुदायिक र ७ संस्थागत विद्यालय रहेको गाउँपालिकामा ११ मावि छन् ।


विद्यालयमै उपस्थित हुने विद्यार्थीलाई वडा र विभिन्न संघसंस्थामार्फत मास्क, साबुन र स्यानिटाइजर उपलब्ध गराइएको भण्डारीले बताए ।


विकट मादी गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले विद्यालय खोलेको छ । जेठदेखि नै यहाँ धमाधम पढाइ भइरहेको छ । तर, जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना फैलिएपछि दुई सातादेखि बन्द विद्यालय आइतबारदेखि खुलेका छन् ।


स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयमा पढाइ सुरु गरिएको प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए । कोरोना फैलिएकाले ७ र ११ नम्बर वडाका विद्यालय अहिले पनि बन्द छन् ।


‘कक्षा जोर–बिजोर गरेर पढाइ भएको छ । केही वडामा अझै कोरोना महामारी बढिरहेकाले केही दिन नपढाउन भनेका छौं,’ उनले भने, ‘विस्तारै आन्तरिक परीक्षा लिन्छौं । अब सहज हुँदै जाला ।’


गाउँपालिकाले स्यानिटाइजर र साबुनको व्यवस्था गरेको उनले बताए । १० मावि र ४४ आधारभूत गरी यहाँ ५४ विद्यालय छन् ।


पोखरा महानगर इन्टरनेटको पहुँचमा भएकाले पनि यहाँ अनलाइन कक्षा लिन सजिलो छ । सामुदायिक र संस्थागत दुवै विद्यालयले अनलाइनमै पठनपाठन गराइरहेका छन् । तर, विद्यालय भने अहिलेसम्म खुलेका छैनन् ।


अहिले १२ कक्षाको परीक्षा चलिरहेको र यसपछि सरोकारवालाको सुझावका आधारमा विद्यालय सञ्चालन गरिने नगरप्रमुख मानबहादुर जिसीले बताए । ‘आ–आफ्नै हिसाबले पढाइ भइरहेको छ । महानगरले निर्णय गरेरै खोल्न भनेको छैन’,  उनले भने, ‘१२ कक्षाको परीक्षापछि निर्णय लिन्छौं । अब विद्यालय खोल्नुपर्छ ।’


स्वास्थ्यकर्मी खटाएर मापदण्ड कार्यान्वयन गराउँदै विद्यालय सञ्चालनको वातावरण बनाइने उनले जानकारी दिए । पोखरामा २ सय २० सामुदायिक विद्यालय छन् । संस्थागत विद्यालयले भने अनलाइनबाटै परीक्षासमेत लिइसकेका छन् ।