close

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई त्रियुगाको उपहार

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई त्रियुगाको उपहार

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । नगर क्षेत्रभित्रका वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई त्रियुगा नगरपालिकाको कृषि शाखाले ५० लाख २० हजार ९५० रुपैयाँ बराबरको कृषि तथा पशु सामग्री वितरण गरेको हो ।


स्विस सरकारको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका कृषि शाखामार्फत विदेशबाट फर्किएका युवाहरूलाई कृषि तथा पशु सामग्री हस्तान्तरण गरेको हो । कृषि तथा पशु सामग्री त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले हस्तान्तरण गरेका हुन् ।


सामग्री वितरणसँगै नगरप्रमुख चौधरीले व्यावसायिक कृषकलाई बैंकसँग सहकार्य गरेर विनाधितो ५० लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्न तयार रहेको जानकारी दिए ।


त्रियुगा नगरपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरेर कृषक समूहले व्यावसायिक योजना बनाएर ल्याएपछि कृषकलाई विनाधितो बैंकबाट ५० लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउनेबारे छलफल भइरहेको नगरप्रमुख चौधरीले बताए ।


कृषि विकास बैंकबाहेक अन्य बैंकहरू कृषि क्षेत्रमा ऋण लगानी नगरेर बसिरहेका अवस्थामा अब सबै बैंकले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नगरप्रमुख चौधरीको धरणा छ । नगरपालिकाले महिला, युवा तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई च्याउ खेती उद्यम गर्न पहिलो चरणमा नौ लाख ५० हजार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई बेमौसमी तरकारी खेती उद्यम गर्न आठ लाख, तरकारी प्रशोधनका लागि स्थानीय स्तरमा तीनवटा समूहलाई सोलार ड्रायर मेसिन खरिद तथा वितरणका लागि एक लाख ४४ हजार र कृषि उपजहरूलाई चिस्यान कायम गर्न सहकारीलाई कोल्ड च्याम्बरका लागि सात लाख ५० हजार गरी २६ लाख ४४ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ ।


बाँकी सामग्री पशु शाखालाई वितरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा प्लास्टिक टनेल सेट तथा च्याउको बिउ, बिषादी छर्ने स्प्रेलगायतका छन् ।