close

अस्पताल शिलान्यासको दिन आयो, कास्कीका पालिकाले जग्गा नै भेटेनन्

अस्पताल शिलान्यासको दिन आयो, कास्कीका पालिकाले जग्गा नै भेटेनन्

Trulli
ADVERTISEMENT

 

कास्की– नेपाल सरकारले १ सातापछि देशभरका सबै स्थानीय तहमा एकै पटक अस्पताल निर्माणको शिलान्यास गर्दैछ ।


कास्कीका स्थानीय तहले नयाँ बन्ने अस्पतालका लागि अहिलेसम्म जग्गासमेत खोज्न सकेका छैनन् । सरकारले यही १५ मंसिरमा ३ सय ९४ स्थानीय तहमा एकै पटक अस्पताल शिलान्यास गर्न लागेको छ ।

 

पोखरा महानगरपालिकाले जग्गा खोजी गर्न बल्ल समिति गठन गरेको छ । डा. नारायण ओझाको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोजी र सम्भाव्यता अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको मेयर मानबहादुर जिसीले बताए ।


समितिमा डा. सरोज पोखरेल, डा. कीर्तिसागर बराल, वडा नम्बर २६ का अध्यक्ष नारायणप्रसाद बराल, २७ का अध्यक्ष पूर्णकुमार गुरुङ र ३० का वडाअध्यक्ष श्रीराम पोखरेल सदस्य छन् भने स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा सदस्य सचिव छन् ।


सरकारले १५ शैयाको अस्पताल इजाजत दिएपनि पोखराले १ सय वेडको अस्पताल बनाउने जनाएका छन् । ‘१५ शैयाको अस्पताल पहिले नै छ । हामी छुट्टै १ सय वेडको नयाँ अस्पताल बनाउने हो,’ जिसी भन्छन्, ‘जग्गा खोज्न समिति गठन भएको छ । यही वर्ष ५० शैयाको काम सुरु हुन्छ ।’ पूरानो लेखनाथ क्षेत्रमा नयाँ अस्पताल निर्माण गर्ने उनको योजना छ ।

 

उता गाउँपालिकाहरु भने भइरहेको स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल बनाउने तयारीमा छन् । अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर २ मा रहेको नाउडाँडा स्वास्थ्य चौकी परिसरमै नयाँ भवन बनाउने डिजाइन तयार गरेको छ । ‘साढे २ तले भवन नयाँ बनाउने हो । सुरक्षा गार्ड बस्ने घर सहित अन्य सबै संरचना हुन्छ,’ अध्यक्ष युवराज कुवँर भन्छन्, ‘यही साता टेण्डर निकालेर ठेक्का प्रक्रियामा लैजान्छौं ।’ उनका अनुसार १८ करोड ६ लाख रुपैयाँको स्टिमेट निकालिएको छ ।

 

रुपा गाउँपालिकाले पनि हालको स्वास्थ्य चौकीलाई नै स्तरोन्नती गरी अस्पताल बनाउने तयारी गरेको छ । गाउँपालिका भवन नजिकै रहेको स्वास्थ्य चौकीको भवनमा तला थप्ने र अर्को भवन बनाउने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘स्टिमेट हुँदैछ । चानचुन १८ करोड लाग्छ,’ उनले भने, ‘शिलान्यासको दिनसम्म डिजाइन बन्छ । त्यसपछि ठेक्कामा लगाउछौं ।’


मादी गाउँपालिकाले सवी भन्ने ठाउँमा अस्पताल बनाउने बताएको छ । तर जग्गा छनोट भइसकेको छैन । मादीमा पनि १५ शैयाको अस्पताल बनाउने योजना छ । त्यसका लागि १८ करोड रुपैयाँ बजेट स्वीकृत भएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले बताए ।


‘सवीमा बनाउने भनिएको छ । तर जग्गा जुटाउन बाँकी नै छ,’ उनले भने, ‘स्टिमेट माथिबाटै आएको छ । भुगोल अनुसार अलिअलि संशोधन गर्ने कुरा छ । शिलान्यास भएपछि स्टिमेट फेर्ने र टेण्डर प्रक्रृयामा लैजान्छौं ।’ सरकारले कम्तिमा १० रोपनी जग्गा तयार गर्न निर्देशन दिएको छ ।


५ स्थानीय तह रहेको कास्कीमा ४ वटै स्थानीय तहलाई १५ शैयाको अस्पताल बनाउने स्वीकृति नेपाल सरकारले दिएको छ । माछापुच्छ«े गाउँपालिकामा यो पटक अस्पतालको योजना परेको छैन । ‘जमिन उपलब्ध भएन । हामी खोजी गरिरहेका छौं,’ अध्यक्ष कर्णबहादुर गुरुङले भने, ‘जग्गा पाएपछि सरकारसँग माग गरौंला ।’


 गाउँपालिका अध्यक्षहरुले जग्गाको मापदण्ड सच्याउनुपर्ने माग गरेका छन् । ‘पहाड र हिमाली क्षेत्रमा १० रोपनी समथर जग्गा पाउन गाह्रो छ । जग्गा जति पनि छ, तर समथर छैन,’ उनीहरुले भने, ‘यसलाई संशोधन गर्नुपर्छ ।’

 

स्थानीय तह हेरेर ५, १० र १५ शैयाको अस्पताल एकै पटक शिलान्यास गर्न लागिएको हो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले चरणबद्ध रुपमा सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारले जनाएको छ । हाल ६ सय ४९ स्थानीय तहमा अस्पताल छैनन् । सबै अस्पताल २ वर्षभित्रै निर्माण सक्ने लक्ष्य छ ।