close

मुख्यमन्त्रीले किन लगाए गाउँपालिका अध्यक्षसँग मित ?

गुरुङ भन्छन्ः कांग्रेस–कम्युनिस्टको मितेरी केन्द्रलाई पाठ

मुख्यमन्त्रीले किन लगाए गाउँपालिका अध्यक्षसँग मित ?

गुरुङ भन्छन्ः कांग्रेस–कम्युनिस्टको मितेरी केन्द्रलाई पाठ

Trulli
ADVERTISEMENT

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले मितेरी साइनो गाँसेका छन् ।


अन्नपूर्ण–२ भुरुङ तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मित लगाएका हुन् । परम्परागत विधिअनुसार एकअर्काले भादगाउँले टोपी, माला साटासाटा र  टाउकै जोडेर मित लगाए । मित लगाएपछि केक काटेर खुसीयालीसमेत साट्न भ्याए ।

 
बुबाको किरिया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका हुन् । ‘निर्वाचन पहिले उहाँसँग चिनजान थिएन । जनप्रतिनिधि भएपछि कार्यक्रममा सँगै हुने अवसर मिल्यो । धेरैले उहाँ र मलाई दुई भाइजस्तै भनेर पनि चिनाउन थाले,’ अध्यक्ष पुनले भने, ‘उहाँ र म निकटका साथीहरूले मितको प्रस्ताव गर्नुभयो । हामीले सहर्ष स्वीकार्याै।’


नेकपा स्थायी समिति सदस्य गुरुङ पार्टीको प्रदेश इञ्चार्ज पनि हुन् । भारतीय गोर्खा सैनिकको सेवानिवृत्त क्याप्टेन पुन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।


फरक राजनीतिक आस्था भए पनि भावनात्मक निकटताले उनीहरूलाई मितेरी साइनोसम्म पु¥याएको हो । आफूहरूको मितेरी साइनोले केन्द्रीय स्तरका नेताहरूलाई फरक आस्था र विचार भए पनि राष्ट्रिय हितका मुद्दामा मिलेर अघि बढ्ने सन्देश दिन खोजेको अध्यक्ष पुन बताउँछन् ।

 
पश्चिम नेपालको पहाडी बस्तीमा पुरुषले मित र महिलाले सैना लगाउने चलन छ । विशेषगरी छिमेकी गाउँका युवकयुवतीबीच परम्परागत रुपमा मित र सैना लगाउने चलन थियो ।


पछिल्लो समय मौलिक संस्कृति र चलनको रुपमा रहेको मितेरी साइनो हराउँदै गएको छ ।  आफू र अध्यक्ष पुनबीचको विकासप्रेमी सोच र भावनात्मक सम्बन्धकै कारण मित साइनो जोड्न सम्भव भएको मुख्यमन्त्री गुरुङले बताए ।


गत वर्षको माघमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र अध्यक्ष पुनबीच मितेरी साइनो लगाउने चर्चा थियो । मित लगाउने कार्यक्रममा म्याग्दी क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेश सांसद विनोद केसी, मंगला एवं मालिका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र खरमाया बिटालु पनि सहभागी थिए ।