close

बैतडीका आठ पालिकाका विद्यालयमा पठनपाठन सुरु

बैतडीका आठ पालिकाका विद्यालयमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीका आठवटा स्थानीय तहले विद्यालय संचालन गरेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले गत एक महिना अगाडिदेखि नै विद्यालय संचालन गरेकामा अन्य छवटा स्थानीय तहले समेत यसै हप्तादेखि विद्यालय संचालन गरेका छन् ।
    

शैक्षिक सत्रको अन्त्य हुन थालेपछि कोरोना कहरका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विद्यालय संचालन गरिएको स्थानीय तहहरूले जनाएका छन् । विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुसार स्थानीय तहहरूले विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका प्रधानाध्यापकहरूसँग समन्वय गरी विद्यालय संचालन गरेको बताएका छन् ।


पढाइ नभईकनै शैक्षिक सत्र सकिने अवस्था आएपछि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय संचालनमा ल्याइएको पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले बताए । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा नकारात्मक असर पर्ने र शिक्षण सिकाइका वैकल्पिक विधिसमेत प्रभावकारी नहुँदा विद्यालय संचालन गरिएको उनले बताए ।
   

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकाले सोमबारदेखि विद्यालय संचालनमा ल्याएको शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले एक महिनाअघिदेखि विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् । सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकामा यसै हप्तादेखि  विद्यालय संचालनमा ल्याएका हुन् । यसै हप्ताको आइतबारदेखि विद्यालय संचालन गरेको सुर्नया गाउँपालिका उपाध्यक्ष लीला बिष्टले बताइन् ।   
    

जिल्लाको मेलौली नगरपालिकाले पनि विद्यालय संचालनको तयारी गरेको शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी दिए । जिल्लाको पाटन नगरपालिकामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संचालनमा रहेको नगर प्रवक्ता लोकेन्द्र भण्डारीले बताए ।


दशरथचन्द नगरपालिकाले भने विद्यालय संचालन गरेको छैन । वीरेन्द्र मावि साहिलेकका शिक्षक हर्कबहादुर चन्दले भने, ‘अहिले गाडी सबै चल्न थालेका छन्, बजारमा भीडभाड बढेकै छ, मेलाहरूसमेत हुन थालिसके तर विद्यालय खोल्नमा दशरथचन्द नगपालिका अग्रसर देखिएको छैन ।’


नगरपालिकाले यही १ मंसिरसम्म विद्यालय नखोल्न भनेको र उक्त मिति समाप्त भइसकेको अवस्थामा नगरपालिका मौन बसेको उनले बताए ।
    

नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले दशरथचन्द नगरपालिका भारतसँग सीमा जोडिएको भएकाले संक्रमणको जोखिम बढी हुँदा विद्यालय बन्द गरिएकामा यही १५ मंसिरदेखि खोल्ने तयारीमा रहेको बताए ।